पहिलो चुनावको रोचक तथ्य : २१ जना निर्वाचित मध्ये १६ को तत्कालै राजीनामा, घरघरमै मतपत्र
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ १८ आइतबार
838
Shares
काठमाडौं । नेपालमा २००४ सालदेखि निर्वाचनको सुरुवा भएको कुरा त यस अघिकै आलेखद्वारा प्रस्तुत गरिएको थियो । निर्वाचन आयोगले पनि काठमाडो म्युनिसिपालिटीको सो चुनावलाई नेपालको पहिलो चुनाव पुष्टि गरेको छ । तर, त्यो चुनावमा पनि केही रोचक तथ्यहरु भेटिएको छ ।
त्यो चुनावमा धेरै रोचक विषयहरु पनि समेटिए । जेठ २९ गतेविहान ११ बजेदेखि अपराह्न ३ बजेसम्मको लागि मात्रै चुनावको समय तय गरिएको थियो । कसैले पनि त्यतिबेला मतदान केन्द्रमा पुगेर मतपत्र लिईरहनुपर्ने आवश्यकता नै थिएन । त्यतिबेला भोलिपल्ट मतदान गर्ने मतपत्र सबै मतदाताको घरघरमा नै पुर्याईएको त्यतिबेलाका मतदाताहरु बताउँछन् । ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको सो बेलामा २१ वडामा भुवनलाल प्रधान निर्विरोध भएका थिए ।
त्यतिबेलाको निर्वाचन प्रणाली पनि अहिलेको भन्दा फरक थियो । नगरपालिकामा २१ जना निर्वाचित र १० जना मनोनीत गरी कूल ३१ जना सदस्य सहितको नगरपालिका बोर्ड गठन गर्नको लागि सो निर्वाचन गरिएको थियो । सभापतिको लागि भने मनोनीत सदस्य मात्रैउम्मेदवार बन्न पाउने र तिनै ३१ जनाले उनीहरुलाई चुन्न पाउने व्यवस्था गरिएको थियो । तर, उपसभापति भने निर्वाचित सदस्य मध्येबाट छान्न पाउने व्यवस्था गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार त्यतिबेला सभापतिमा गेहेन्द्र समशेर थापा निर्वाचित भए । उपसभापतिमा भने शंकरदेव पन्त निर्वाचित भए । यसरी निर्वाचित अधिकारी र मनोनीत प्रतिनिधिहरुबीच कामको तादात्मताको विषयमा विवाद सुरु भयो । सो विवाद पहिलो बैठकदेखि नै सुरु भएको थियो । निर्वाचित जनप्रतिनिधिहरुले आफू जनताले पठाएको प्रतिनिधि भएकोले आफूले धेरै अधिकार पाउनुपर्ने माग गरे भने अन्य मनोनीत सदस्यहरुले पनि आफू सीधै श्री ३ को निगाहा भएको व्यक्ति भनेर सानो कुरा नगरेपछि विवाद चर्किँदै गयो ।
यसरी विवाद चर्किँदै गएपछि २१ मध्ये १६ वडाका प्रतिनिधिहरुले राजीनामा दिए । यतिधेरै संख्यामा सदस्यहरुले राजीनामा दिएपछि फेरि सो ठाउँमा उपनिर्वाचन गराउने तयारी सरकारले गरेको थियो । तर, कुनैपनि व्यक्तिले उम्मेदवार बन्ने आँट नै नदेखाएपछि उपनिर्वाचन पनि हुन सकेन । अन्तमा निर्वाचित ५ जना र मनोनीत १० गरी १५ जनाले प्रजातन्त्रको आन्दोलनपूर्वसम्म नगरपालिकामा काम गरेका थिए ।
२००४ सालमा नै काठमाडौं र ललितपुरमा पनि निर्वाचन गरिएको थियो । डिल्लीराम मिश्रको प्रजातान्त्रिक विकास क्रम र काठमाडौं उपत्यकाको निर्वाचन भन्ने पुस्तकमा लेखिए बमोजिम काठमाडौंमा चुनाव भएको केही समय पछि ललितपुर र भक्तपुरमा पनि निर्वाचन भएको थियो । तर त्यतिबेला भक्तपुरमा १० वडा र ललितपुरमा १२ वटा वडामा निर्वाचन गरिएको थियो ।
गोरखापत्रका तत्कालीन विभिन्न लिखित संग्रहहरुको आधारमा भन्दा उत्तरमा महाराजगञ्ज, दक्षिणमा वाग्मती नदी, पूर्वमा धोवीखोला र पश्चिममा विष्णुमती गरी चारकिल्ला भित्र म्युनिसिपालिटीको क्षेत्र निर्धारण गरिएको थियो । पछि वि सं। २००३ साल फाल्गुन २ गते सफाई अड्डाको नाम परिवर्तन गरी म्युनिसिपालिटीको नामबाट काम सुरु भएको थियो । निर्वाचन हुने समयमा सफाई अड्डालाई काठमाडौंको माथि उल्लेखित चार किल्लालाई २१ वटामा विभाजन गरेर कार्यविभाजन गरिएको थियो ।
सो निर्वाचनमा २१ वर्ष पुगेका लोग्ने मान्छेले मात्रै भोट हाल्न पाउने व्यवस्था गरिएको थियो । कूल ६८ हजार १ सय १८ जना जम्मा मतदाता रहेको सो समयमा कूल १३ हजा। ५ सय ५३ वटा घर निर्वाचन क्षेत्रभित्र रहेका थिए ।
उम्मेदवारको हकमा पनि २५ वर्ष उमेर पूरा भएका पुरुषहरुले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिएको थियो भन्ने कुरा पनि २००४ सालको गोरखापत्रमा नै उल्लेख गरिएको छ । त्यतिबेला सरकारी जागिरेहरुलाई पनि चुनाव उठ्न रोक लगाईएको थिएन । त्यसैले पनि सो समयमा धेरै सरकारी जागिरेहरुले समेत उम्मेदवारी दिएका थिए । सो समयमा कूल २२ ठाउँमा मतदान केन्द्रहरु राखिएको थियो ।