arrow

टिकट वितरणप्रति रौतहट काँग्रेसभित्र चर्काे असन्तुष्टि, राजपा भित्र पनि उस्तै

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
rautahat_district_map.png

रौतहट । टिकट वितरणको विषयलाई लिएर रौतहट काँग्रेसमा असन्तुष्टि चुलिएको छ । आफ्ना नातेदारलाई र आर्थिक प्रलोभनमा परी पार्टीमा लामो समय क्रियाशील नभएकाहरुलाई टिकट दिएपछि रौटहट काँग्रेसमा असन्तुष्टि चुलिएको हो ।  

अहिले समयमा नै संगठन विस्तार गर्न नसक्दा रौतहटको गौरमा काँग्रेसले मेयरको उम्मेदवार नै नभेटेको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ । त्यहाँ काँग्रेसले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । काँग्रेस नेताहरुका अनुसार सबै नातागोता र आफ्ना नजिकककाहरुलाई मात्रै अवसरमा सहभागी गराउने पार्टी जिल्ला नेतृत्वका कारण यस्तो स्थिती सिर्जना भएको आरोप काँग्रेसीहरुले लगाउने गरेका छन् ।

माधव नेपालको क्षेत्र पर्ने गौरमा अहिले एमालेले मेयरमा शम्भू शाहलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, त्यहाँ राजपाको अजय गुप्ताको सम्भावना बढेको छ । तर, त्यहाँ धेरै नेताहरुको असन्तुष्टि रहेको भएकोले राजपाका केही नेताहरुले विद्रोह गर्ने सम्भावना रहेको देखिन्छ । गौरमा संघीय समाजवादी फोरमबाट गौरी शंकर यादवको नाम सिफारिस भएको छ ।  

त्यस्तै, चन्द्रपुर नगरपालिकामा काँग्रेसले अहिलेसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । त्यहाँ त झनै आफ्ना मान्छेलाई टिकट दिने बाहानामा उम्मेदवारको टुंगो लगाउन नसक्दा एकाथरीले  पार्टी नै छोड्न लागेका जानकारी आएको छ । त्यहाँ छिट्टै क्रियाशील मान्छेलाई टिकट नदिने हो भने काँग्रेस महासमिति सदस्य रामचन्द्र चौधरी र प्रभावशाली क्रियाशील सदस्य अजय शाहले पार्टी छाड्ने तयारी गरिरहेका छन् ।  

पार्टी सभापति कृष्ण यादवले गरुडा नगरपालिकामा आफ्नै सालो सुनील यादवलाई मेयरको उम्मेदवार बनाएपछि क्षेत्रीय सभापति राम भरोसी यादवमाथि कार्यकर्ताहरु असन्तुष्ट भएका छन् । त्यस्तै, आर्थिक प्रलोभनमा परी काँग्रेसमा क्रियाशील नै नरहेका ज्योति डिस्टिलरी उद्योगका सञ्चालक ओमप्रकाश जैसवालका २२ वर्षीय छोरा अजय प्रसाद जैशवाललाई कटहरीया नगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि महाधिवेशन प्रतिनिधि राकेश गिरी, जिल्ला समिति सदस्य कुन्दन कुशवाह र क्षेत्रीय सचिव एवं प्रेस युनियनका केन्द्रीय पार्सद् सञ्जय मिश्रले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरिसकेका छन् । 

यसरी पार्टी पंक्तिले समयमा नै ध्यान नपुर्याउँदा लामो समयदेखि पार्टीमा कार्यरतहरु कार्यकर्ताहरुले पार्टी छाडेर जाने सम्भावना बढेको छ । रौतहतको गरुडा नगरपालिका प्रमुखमा सुनिलकुमार यादव र उपप्रमुखमा रंगीलाकुमारी जैशवाल,  गजुरा नगरपालिका प्रमुखमा शेख दाउद, राजदेवी नगरपालिका प्रमुखमा धीरेन्द्रकुमार सिंह, बौधिमाई गाउँपालिका अध्यक्षमा नवलकिशोर साह, देवाही गोनाही गाउँपालिका अध्यक्षमा शेख मजित अलि, दुर्गा भगवती गाउँपालिका अध्यक्षमा अरुण साह, गढीमाई गाउँपालिका अध्यक्षमा श्यामप्रसाद यादव, इशनाथ गाउँपालिका अध्यक्षमा कौशल्यादेवी, परोहा गाउँपालिका अध्यक्षमा शेख वकिल, राजपुर गाउँपालिका अध्यक्षमा मोहम्मद सकिल अख्तर, जमुनामाई गाउँपालिका अध्यक्षमा श्रीराम राय यादवले टिकट पाएका छन् ।

यस बाहेक अरु सबै स्थानीय तहमा काँग्रेसभित्रको विवाद चुलिएका कारण उम्मेदवारको टुंगो लाग्न सकेको छैन । केहीकेहीमा भने तालमेलको लागि भनेर खाली छोडिएको छ । तर, धेरैमा भने विवादका कारण उम्मेदवारको टुंगो लाग्न सकेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ