arrow

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
lukla.jpg.jpeg

सोलुखुम्बु। तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

आइतबार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतबार विभिन्न विमान कम्पनीले गरी १६ वटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् ।

पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए ।

अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ ।

बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरैपटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउछन्  ।  

लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाइ कामसमेत भएको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ