सर्लाहीमा काँग्रेस–माओवादी गठबन्धन : २ वटामा कुरा मिलेन २ वटाको लागि ४ बजे बैठक
प्रकाशित २०७४ भदौ १९ सोमबार
405
Shares
सर्लाही । सर्लाहीको दुई नगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धन प्रयास विफल भएको छ । दुबैले आफूले मेयर पाउनुपर्ने अडान नछाडेपछि हरिवन र ईश्वरपुरमा तालमेलको प्रयास विफल भएको हो । आईतबार साँझदेखि बसेको बैठक विहान फेरि पनि बसेको थियो । दुबै पक्षबीच कुरा नमिलेपछि उनीहरु एक्लाएक्लै चुनाव लड्ने पक्षमा दुबै पार्टी पुगेका हुन् ।
राजमार्ग क्षेत्रमा पर्ने ४ नगरपालिकामा एमालेको राम्रो पकड रहेको बताईन्छ । त्यसमध्ये लालबन्दी र वाग्मती नगरपालिकामा भने तालमेलको सम्भावना अझै जारी रहेको छ । यसको लागि साँझ ४ बजे फेरि बैठक बस्ने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति नागेन्द्र कुमार रायले हरिवन नगरपालिकामा तालमेलको कुरा नमिलेसँगै अब सोमबार साँझसम्म त्यहाँको मेयरको उम्मेदवार टुंगो लगाउने बताए । उनका अनुसार अन्य दुई नगरपालिकामा भने तालमेलको प्रयास जारी छ ।
हरिवन नगरपालिका सर्लाहीको यस अघिको निर्वाचन क्षेत्र नं २ मा पर्नै नगरपालिका हो । त्यहाँ ४ हजारको फरकमा नेपाली काँग्रेसका रामचन्द्र चौधरीले चुनाव जितेका थिए । त्यहाँ काँग्रेसको प्रमुख प्रतिद्वन्दी एमालेका सुरेन्द्र कुमार लामा थिए ।
त्यस्तै, वाग्मती नगरपालिका माओवादीको पकड क्षेत्र मानिन्छ । तर, सो क्षेत्रमा २०७० सालको चुनावमा नेकपा एमाले विजयी भएको थियो भने दोस्रो भएको थियो नेकपा माओवादी केन्द्र । त्यसैले अहिले काँग्रेसले सो क्षेत्रमा माओवादीलाई मेयर दिन सहमत भएको हो । उता लालबन्दी र इश्वरपुर नगरपालिका सर्लाहीको १ नं क्षेत्रमा पर्छ । सो क्षेत्रमा काँग्रेसले मेयर आफू राखेर माओवादीलाई उपमेयर दिने विषयमा कुरा मिले वाग्मती छोड्न आफू तयार रहेको संकेत गरेको छ ।
त्यहाँ दुबै पार्टीको उम्मेदवार चयन गर्नको लागि नेपाली काँग्रेसबाट नेता आनन्द प्रसाद ढुंगाना र माओवादीबाट मातृका यादव खटिएका छन् । उनीहरु नै अहिले तालमेलको लागि पनि बैठकमा बसिरहेका छन् ।