काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाका केन्द्रीय नेता शिवपुजन राय यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । यादव पहिलो संविधानसभा सदस्य निर्वाचनमा सर्लाही ६ मा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र काँग्रेस नेता अमरेशकुमार सिंहलाई पराजित गरेका थिए ।
माओवादीमा पोलिट व्यूरो सदस्य पाउने भएपछि यादव पार्टी प्रवेश गरेका हुन् । उनले माओवादी प्रवेश गरेसँगै सर्लाहीबाट २ नगरपालिका र २ गाउँपालिका जिताउने बताएका छन् ।
यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जस्तोसुकै व्यस्तताबीच पनि फोन उठाइदिन भनेका छन् । दहालले सर्लाहीमा महन्थ ठाकुर र अमरेशकुमार सिंहको क्षेत्रमा आफ्नो पार्टीको प्रभाव नरहेकाले यादवले सिफारिस गरेकै व्यक्तिलाई टिकट दिने बताएका छन् ।
मधेसको निर्वाचनबाट सक्कली राष्ट्रवाद देखिने दाहालको भनाई छ । यद्यपि, माओवादी केन्द्र उम्मेदवार तय गर्नु भन्दा बढी पार्टी प्रवेशमा तल्लिन भएको छ । माओवादीले दोहोरो फाइदा उठाइरहेको छ । एकातिर राजपाका नेता कार्यकर्ता भित्र्याउने, अर्कोतिर राजपा र संघीय समाजवादीसँग चुनावी तालमेल गर्ने ।
भरखरै नयाँ शक्तिबाट माओवादी केन्द्रमा आएका नेता रामचन्द्र झाले आफुहरुले पार्टी प्रवेशलाई थग्नै नसकेको बताए । उनका अनुसार उम्मेदवार चयन भन्दा पार्टी प्रवेशमा बढी समय दिनु परिरहेको छ । प्रदेश २ मा आउँदो असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ, भने २१ गते स्थानीय तहको निर्वाचनका मनोनयन दर्ताको कार्यक्रम छ ।