arrow

०७० सालको चुनावमा थ्रेसहोल्ड लागेको भए कुन कुन दल हुन्थे पत्तासाफ ? (सूचीसहित) 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ १९ सोमबार
samanupatik_mat.png

काठमाडौं । सोमबार व्यवस्थापिका संसद्ले पारित गरेको प्रतिनिधिसभाको निर्वाचनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा थ्रेस होल्डको व्यवस्था गरिएसँगै सो व्यवस्थाको पक्षमा धेरैले प्रशंसा गर्न थालेका छन् । साना दलहरुले सरकारमा जाने विषयमा धेरै वार्गेनिङ गरेको र राजनीतिक अस्थिरता निम्तिएको भन्दै ल्याईएको सो व्यवस्थाले साना राजनीतिक दलहरुलाई भने समस्या सिर्जना गराएको छ । अब उक्त व्यवस्था अनुसार राष्ट्रिय दल बन्नको लागि एक सिट प्रत्यक्ष र कम्तिमा तीन प्रतिशत समानुपातिकमा मत ल्याउनै पर्ने व्यवस्था गरिएको छ । 

अहिलेको कानून अनुसार कुनैपनि दलले प्रत्यक्ष तर्फ एक सिट पनि जितेनन् भने पनि उनीहरुले समानुपातिक स्वतन्त्र सांसद्को मान्यता पाउनेछन् । अर्थात् उनीहरुले दलीय हैसियत विना पनि समानुपातिक तर्फ प्राप्त मतको आधारमा संसद्मा सिट पाउँछन् । अहिलेको संविधान अनुसार संघीय संसद्मा ११० जना समानुपातिक सांसद्को प्रतिनिधित्व हुने गरेको छ । सोमबार पारित भएको सो विधेयक अनुसार हेर्ने हो भने २०७० सालमा कतिवटा राजनीतिक दलले संसद्मा प्रतिनिधित्व गर्न पाउँथे त ? यस विषयमा हामीले केही तथ्यांक संकलन गरेका छौं । 

२०७० सालमा कूल १ सय २२ पार्टीले समानुपातिक अर्थात् दलगत रुपमा निर्वाचन आयोगमा दर्ता भएर चुनाव लडेका थिए । सो अनुसार कूल १ सय २२ दलबाट ३ सय ३५ सिटका लागि १० हजार सात सय ९ जना समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाईएको थियो । जसमा सबैभन्दा थोरै उम्मेदवार उठाउने श्रमिक जनता पार्टी नेपालले ३१ जना र सबैभन्दा धेरै उम्मेदवारको नाम बुझाउने नेपाली काँग्रेसले ३ सय ३४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको थियो । त्यसपछि धेरै बुझाउनेमा एमालेको ३ सय ३३ र माओवादीको ३ सय ३२ जना रहेका छन् । 

यसरी बन्दसूची मार्फत् समानुपातिक सिटमा प्रतिनिधित्वको लागि निर्वाचनमा सहभागी भएका दलहरुमध्ये ३ प्रतिशतभन्दा बढी मत ल्याउने पार्टी जम्मा ४ वटा मात्रै रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले दिएको जानकारी अनुसार २०७० सालमा कूल सदर मतको ३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, तत्कालीन एकीकृत नेकपा माओवादी र तत्कालीन राप्रपा नेपाल मात्रै रहेका छन् । 

त्यतिबेला कूल ९४ लाख ६३ हजार ८ सय ६२ मत सदर भएकोमा पहिलो बनेको नेपाली काँग्रेसले २५.५५ प्रतिशतले हुन आउने २४ लाख १८ हजार ३ सय ७० मत प्राप्त गरेको थियो । त्यस्तै, दोस्रो हुने नेकपा एमालेले कूल सदर मतको २३.६६ प्रतिशत हुन आउने २२ लाख ३९ हजार ६ सय ९ मत ल्याएको थियो । तेस्रो हुने माओवादीले १५ प्रतिशतले हुन आउने १४ लाख ३९ हजार ६ सय ९ मत ल्याएको थियो । चौथो भएको राप्रपाले भने ६.६६ प्रतिशत हुन आउने ६ लाख ३० हजार ६ सय ९७ मत ल्याएको थियो । 

यसरी अहिले तोकिएको थ्रेस होल्डको सीमा पूरा गरेका ४ दल बाहेकबाट संसद्मा प्रतिनित्व गरेका सांसदहरुको संख्या ८२ रहेको छ । यी ८२ सिटमा भने यदि थ्रेस होल्ड सुरु भएको थियो भने ठूला ४ दलका समानुपातिक सांसद्का उम्मेदवारहरुको पालो आउने थियो ।  

यी चार दलहरु बाहेक अरु दलले तीन प्रतिशत मत ल्याउन नसकेकोले यी दलहरुले समानुपातिक तर्फ थ्रेस होल्डको सीमा पार गर्न नसक्ने अवस्था रहेको छ । यसरी तीन प्रतिशत पूरा नगर्नेहरुले पनि प्रत्यक्षतर्फ भने सिट जितेकाले उनीहरुले दलको मान्यता चाहिँ पाउँछन् । तर, उनीहरुले ल्याएको समानुपातिक मत भने सबै बेकारको हुने व्यवस्था सोमबार पारित विधेयकमा उल्लेख गरिएको छ । 

अहिलेको थ्रेस होल्डको व्यवस्थालाई २०७० सालको निर्वाचनसँग जोडेर हेर्दा समानुपातिकमा जतिसुकै मत ल्याएपनि त्यो मतको कुनै कदर नभई समानुपातिक व्यवस्थामा पत्तासाफ भएका दलहरुको नामावली तल प्रस्तुत गरिएको छ ।  
क्रसं               राजनीतिक दलको नाम                                       प्राप्त मत प्रतिशत 
१                   मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)                       २.९१
२                   राप्रपा                                                                      २.७५
३                   मधेशी जनाधिकार फोरम, नेपाल                                   २.२६
४                   तराई मधेश लोकतान्त्रिक पार्टी                                      १.१९
५                   सद्भावना पार्टी                                                            १.१४
६                   नेकपा (माले)                                                              १.३८
७                   संघीय समाजवादी पार्टी, नेपाल                                       १.२८ 

यी बाहेक राष्ट्रि जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, नेकपा संयुक्त लगायतका एक सय १० पार्टीले समानुपातिक तर्फ प्राप्त गरेको मत एक प्रतिशत भन्दा कम रहेकोले नाम उल्लेख गरिएको छैन ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ