संघीय समाजवादीको युवा फोरमले विद्यार्थीलाई राहत बाड्यो
प्रकाशित २०७४ भदौ २० मंगलबार
254
Shares
मोरङ । संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी युवा फोरमले दुई सय जना बाढीपीडित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । रतुवामाई नगरपालिका वडा– ५, लारीकट्टामा एक सय जना विद्यार्थी र रतुवामाई –६ कादुपाडा सरस्वती माविका एक सय जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
मंगलबार लारीकट्टा र कादुपाडामा दुई छुट्टा–छुट्टै आयोजित कार्यक्रममा युवा फोरमले विद्यार्थीहरुलाई सत्तरी हजार बराबरको राहत सामाग्री वितरण गरेको हो । यसका साथै रतुवामाईस्थित सिद्धकाली माविका विद्यार्थीहरुलाई पनि शैक्षिक पोशाक बाँढिएको छ ।
नेपाली संघीय समाज जापानले बाढीपीडितका लागि ७० हजार नेपाल पठाएको थियो, जसलाई समाजवादी युवा फोरमले रतुवामाईको दुई वटा विद्यालयमा सो रकम बराबरको राहत सामाग्री वितरण गरेको हो । सोही कार्यक्रममा स्थानीय समाजसेवी दीपक वाग्लेले विद्यालयको मञ्च निर्माणका लागि दुई लाखको चेक हस्तान्तरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा युवा फोरमका उपमहासचिव दुर्गामणि सुवेदी, युवा फोरमका केन्द्रीय सदस्य रामेश्वर पराजुली, राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका महासचिव अर्जुन लम्साल, समाजसेवी सन्तोष ढुंगानाको उपस्थिति थियो ।
त्यस्तै, वडा अध्यक्ष एवं कादुवाडा सरस्वती माविका अध्यक्ष तुलाराम लुइँटेल, इप्रका प्रमुख, सौडा बहुमुखि क्याम्पसका प्रमुख भरतमणि कार्कीको पनि सहभागिता थियो ।