सप्तरीको गोबरगाडामा पहिलो पटक राहत सामाग्री सहित पुगे नेता पौडेल
प्रकाशित २०७४ भदौ २१ बुधबार
468
Shares
राजविराज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बाढीका कारण अस्तव्यस्त सप्तरीको विकट गोबरगाडामा राहत सामाग्री वितरण गरेका छन्। अत्यन्त विकट भएकाले गोबरगाडामा अहिले सम्म राहत लिएर कोही पनि पुग्न नसकेको स्थानीय बासिन्दाले बताएका छन्।
कांग्रेस केन्द्रीय सदस्य पौडेल सहकर्मीहरुका साथ सदरमुकाम राजविराज नजिकैबाट तीव्र गतिको डुंगा (मोटरबोट) मार्फत् दुई घण्टा लामो समय पछि गोबरगाडा पुगेका थिए। चारैतिर कोशीले घेरेको गोबरगाडालाई नेपालको श्रीलंका पनि भनिन्छ। पौडेलेको सक्रियतामा गत शनिवार राजधानीमा भएको भेलामा सहभागीहरुले गोबरगाडामा अहिले सम्म कसैले राहत नपाएको बताएपछि पौडेल नेतृत्वको टोली भोलिपल्टै सप्तरी पुगेको हो।
सरकारी राहत विना अझै पनि २४ घण्टा बाढीकै त्रासमा रहेका गोबरगाडाबासीहरुले आफूहरुको समस्या राज्यलाई सुनाइदिन नेता पौडेल समक्ष आग्रह गरेका थिए। ज्यान नै जोखिममा राखेर आफूहरुलाई राहत वितरण गर्न आएकोमा उनीहरुले पौडेललाई धन्यवाद दिए।
यसैबीच नेता पौडेलले सप्तरी र सिरहाका विभिन्न स्थानको भ्रमण गरी स्थानीय निकायको चुनावमा कांग्रेसको अवस्था बारे जानकारी लिएका छन्। केन्द्रले टिकट वितरण गरिसकेको अवस्थामा सबै खाले मनमुटाब त्यागी आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पौडेलले सरोकारवाला सबैलाई निर्देशन दिएको पौडेलसँगै रहेका नेपाली काग्रेसका युवा नेता देवेन्द्र पाठकले बताए।
असोज २ मा हुन लागेको स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा मधेशको मुद्दाका विषयमा जानकार पौडेल जस्तो नेता मधेशमै पुग्दा कांग्रेसलाई धेरै फाइदा पुग्ने सुझाव बुद्धिजीवी, पेशाकर्मी तथा विज्ञहरुले गत शनिवारको भेलामा दिएका थिए।