कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा पाँच वर्षदेखि सम्पर्कविहीन
किरण भट्टराई,
प्रकाशित २०७४ भदौ २१ बुधबार
517
Shares
काठमाडौँ। छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहनुभएका उनी विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा छैन। डोल्माकी आमा छेकु तामाङले भनिन्, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन÷चारचोटी फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।”
फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताएकी थिइन् । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उनलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिइन्। छोरी गएको तीन महिनापछि रु १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उनले बताए।
सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले उनकी छोरीलाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भने, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।”
यसबारे आरोपी कर्मा लामासँग प्रश्न गर्दा उनले डोल्मालाई कुवेत पठाएको स्वीकार गरे। आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताए । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकले कक्षा १० र अर्कोले कक्षा ८ मा पढ्दै गरेका छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गर्नुभएको छ ।
छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै आँखाबाट आँसु झार्दै उनले भने, “मेरो छोरी कहाँ छे खोज्दिनुप¥यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उहाँले जानकारी दिए।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिइन। उनले गत आव २०७३÷७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिइन् । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । रासस