कांग्रेस नेता लेखक प्रतिनिधिसभा सदस्यको चुनाव लड्न इच्छुक, मुख्यमन्त्री नबन्ने
ईश्वरदत्त बडू,
प्रकाशित २०७४ भदौ २१ बुधबार
819
Shares
कञ्चनपुर। पूर्वमन्त्री रमेश लेखकले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर ७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलिरहेका बेला पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै लेखकले आफू प्रतिनिधिसभा सदस्य बन्न इच्छुक रहेको बताएका हुन्। ‘मैले कुन सभाको सदस्यका लागि उम्मेदवार बन्ने भन्ने विषय पार्टीले टुंग्याउने हो। तर, मैले सोचेको संघीय संसदको सदस्य नै हो,’
उनले भने।
आगामी निर्वाचनका लागि तयारी भइरहेका बेला कांग्रेस नेता रमेश लेखक मुख्यमन्त्री बन्ने तयारीमा रहेको चर्चा चलेका छन्। ‘मैले मुख्यमन्त्री बन्छु भनेको छैन,’ उनले भने, ‘बाहिर मेराप्रति सद्भाव राख्नेहरूले यो प्रस्ताव राखेका हुन्।’
आफ्नो इच्छा अनुसार पार्टीले निर्णय गरेमा प्रतिनिधिसभा सदस्यको चुनावमा लड्ने उनले बताए। पार्टीले निर्णय गरेमा जुनसुकै सम्भावना भएपनि आफू संघीय संसद सदस्य बन्न इच्छुक रहेको उनले बताए। लेखकको यो कुरा बाहिर आएपछि कांग्रेसबाट मुख्यमन्त्रीको उम्मेदवारको बन्ला भन्ने जिज्ञासा बढ्दै गएको छ।
निर्वाचन आयोगले कञ्चनपुरमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकेको छ।