arrow

के भन्छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवार ?

दुई तिहाई ल्याउने फोरमको दावी

logo
व्यूरो
प्रकाशित २०७४ भदौ २१ बुधबार
birganj_news.jpg

काठमाडाैं । आसन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । यसअघि पहिलो र दोस्रो चरणमा गरी ६ वटा प्रदेशमा स्थानीय तह निर्वाचन भइसकेकाले दल र दलका नेताहरु प्रदेश दुई मै केन्द्रीत भएका छन् । दलहरुले प्रदेश दुईको स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

त्यसमा पनि यो पटक पनि एउटा महानगरमा पनि चुनाव हुँदैछ । वीरगञ्ज महानगरलाई झन् दलहरुले प्रतिष्ठासँग जोडेका छन् । वीरगञ्ज महानगरमा दलहरुले निकै सोचविचार गरेर उम्मेदवार उठाएका छन् । वीरगञ्ज महानगरको मेयरका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले माहोल आ–आफ्नै पक्षमा रहेको बताएका छन् ।

हाम्रो मुख्य प्रतिष्पर्धी एमाले नै हो : द्विवेदी
सत्ताधारी काँग्रेसबाट वीरगञ्ज महानगरकोको मेयरमा उम्मेदवारी दिएका अजयकुमार द्विवेदीले आफुहरुको मुख्य प्रतिष्पर्धी एमाले नै रहेको बताएका छन् ।

काँग्रेस जिल्ला सभापति समेत रहेका द्विवेदी माहोल आफ्नै पक्षमा रहेको बताएका छन् । उनले भने, ‘फोरम र राजपाका उम्मेदवार पनि बलियो छन् । तर, मुख्य प्रतिष्पर्धी एमाले नै हुन्छ ।’ द्विवेदीले वीरगञ्जको ३२ वडा मध्ये सबैमा आफुहरुकै पकड रहेको बताए । उनले भने, ‘माहोल नबिग्रिए हामी जित्ने पक्का हो । अहिले माहोल पुरै काँग्रेसमय भएको छ ।’ टिकट वितरणमा भएको ढिलाईले केही समय तयारीमा अवरोध आयो, उनले थपे, ‘अब उम्मेदवारी दर्तासँगै सबै कुरा प्रष्ट भएको छ गति बढेर गएको छ ।’ उनले नागरिकलाई सरकार भएको अनुभूति गराउनु नै आफ्नो चुनावी एजेण्डा रहेको बताए ।

अब वातावरण विथोलिंदैन भन्ने आशा छ : अन्सारी
प्रमुख विपक्षी एमालेबाट मेयरका उम्मेदवार बसुरुद्धिन अन्सारीले पहिले चुनावी वातावरण विगार्ने काम भएको भन्दै अब उम्मेदवारी दर्तासँगै माहोल सुधार हुने बताएका छन् ।

उनले भने, ‘वातावरण विगार्ने काम भएको थियो । अब त्यस्तो हुँदैन होला ।’ अन्सारीलाई एमालेले अघि सारेपछि वाहिर निकै चर्चा भएको थियो । उनले महानगरलाई ९ करोड करतिर्न बाँकिरहेको चर्चा देखि अवैध रुपमा मेडिकल कलेज सञ्चालन गरेकोसम्मको चर्चा भएको थियो ।

उनले वीरगञ्जमा आफ्नो पकड बलियो रहेको बताए । उनले भने, ‘पहिले देखि पर्सामा काँग्रेस नै अगाडि हो । हामीले संविधानसभा निर्वाचन देखि सुधार गरेका छौँ ।’ अन्सारी पहिले तत्कालिन एकिकृत माओवादी केन्द्रबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी एमालेमा नवप्रवेशी भएपनि एमालेले उनलाई नै मेयरको रुपमा अघि सारेको छ । अन्सारी योग्य उम्मेदवार भएकैले अघि सारिएको एमालेले जनाएको छ । उनले अहिले नै के हुन्छ भन्ने भनेर भन्न नसकिने भन्दै आफुहरुनै जित्ने जिकिर गरेका छन् ।

आफुलाई पुरानो नेता भनि चिनाउनेहरुले खर्च बढाएका छन् : कान्छा उम्मेदवार अन्सारी
प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट रहबर अन्सारीले वीरगञ्ज महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । उनी वीरगञ्ज महानगरमा उम्मेदवारी दिएका मध्ये सम्भवतः सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

उनले पुराना पाका नेताहरुबीच चुनावी मैदानमा उत्रदा उत्साहित भएको बताएका छन् । उनले भने, ‘वीरगञ्ज महानगरमा कसैले कसैसँग तालमेल गरेका छैनन् । सबैले बलिया उम्मेदवार उठाएका छन् ।’ माहोल हाम्रै पक्षमा छ ।

उनले भने, ‘पहिलेदेखि काँग्रेसको पकड रहेको क्षेत्रमा पछिल्लो समय एमालेले नतिजार सुधार गरेको अवस्था हो । फोरम र राजपा पनि बलियो भएर आएका छन् ।’ अरुले क्षणिक चुनाव जित्ने रणनीतिहरु अपनाएका छन्, उनले थपे, ‘हामी जनमुखि एजेण्डाका साथ अघि बढेका छौँ ।’

यस्तै, उनले आफुलाई पुरानो नेता भनेर चिनाउनेहरुले खर्च बढाएको बताए । उनले भने, ‘पुरानाहरुले ठूलै रकम खर्च गरेका छन् ।’ वीरगञ्जमा यही हुन्छ भनेर आँकलन गर्न कठिन रहेको उनले बताएका छन् ।

सबै भन्दा कान्छो हुनुहुन्छ, तपाईको चुनौती के हो ? जवाफमा उनले भने, ‘म चुनौती देख्दिन । नागरिकले नयाँ अनुहार र नयाँ नेतृत्व चाहेका छन् । स्थानीय तहमा दल विषेश भन्दा नयाँ नेतृत्वको आवश्यकता छ ।’ के चाहन्छन् त वीरगञ्जवासी ? उनले भनेका छन्, ‘नागरिक आफ्नो जनजीवन सहज र सरल होस् भन्ने चाहन्छन् । कुनै ठूला राजनीतिक अपेक्षाहरु छैनन् । नागरिकले महानगर विकासतिर लम्किएको र जनजीवन सहज भएको हेर्न चाहन्छन् ।’

तपाईको चुनावी एजेण्डा के ? जवाफमा उनले भने, ‘वीरगञ्जमा भएका पूर्वाधारलाई व्यवस्थित बनाउने पहिलो एजेण्डा हो । सुशासन, कृषिको आधुनिकीकरण, नाला र फोहोर व्यवस्थापन प्राथमिकता हुन् ।’ उनले मुख्य प्रतिष्पर्धी काँग्रेस नै रहेको बताए ।

हामी दुई तिहाई ल्याउँछौँ  : सरावगी
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट मेयरमा उम्मेदवारी दिएका विजय सरावगीले आफुहरु दुई तिहाई ल्याउने बताएका छन् । उनले भने, ‘अहिले नै कति पकड हो भन्न सकिँदैन । निर्वाचन कार्यालयबाट उम्मेदवारी अन्तिम भएपछि मात्रै समीकरण बन्छ ।’ उनले कसैसँग तालमेल नगरेको बताएका छन् ।

उनले भने, ‘तालमेलको रिजल्ट राम्रो देखिएन त्यसैले तालमेल भएन ।’ उनले पर्सा काँग्रेसकै पकड भएको जिल्ला हो, भने । उनले अगाडि थपे, ‘पहिले देखि काँग्रेसको राम्रो थियो । पछिल्लो संविधानसभा निर्वाचनमा एमालेले ३ सिट र काँग्रेसले २ सिट मात्रै पायो । यस्तो अवस्था भएको हुनाले यहाँ अहिले नै आँकलन गर्न सकिँदैन ।’ माहोल हाम्रो पक्षमा छ । काँग्रेस उम्मेदवारले पनि फोरम बलियो रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ