दशैँका लागि टिकट लिन आएका यात्रु रित्तो हात फर्कँदै
अच्युत रेग्मी,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
340
Shares
काठमाडौँ । यात्रु : पाँचवटा टिकट पाउँ न दाजु
काउण्टरवाला : कहिलेका लागि होला ?
यात्रु : दशैँका लागि ।
काउण्टरवाला : खुलेको छैन ।
यात्रु : कहिले खुल्ला ?
काउण्टरवाला : थाहा भएन ।
यो सम्वाद हो काठमाडौँको नयाँबसपार्कस्थित दशैँमा घर जान टिकट लिन आएका धनगढीका भुवन विष्ट र सुदूरपश्चिम यातायात लेखिएको काउण्टर नं २३ मा बसेका सुजन कडालको ।
यातायात व्यवस्था विभागले बिहिबारदेखि लामो तथा मझौला दूरीको अग्रिम टिकट बुकिङ खुला गरेपनि यातायात व्यवसायीले बाटोको समस्या र सामान लैजान छतको व्यवस्था नभएको भन्दै टिकट बुकिङ खुला रोकिदियो ।
यातायात व्यवस्था विभागमा यही भदौ १६ गते बसेको विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष एवम् महासचिव र उपभोक्तावादीको बैठकले भदौ २२ मा टिकट खुलाउने निर्णय गरेको थियो ।
उक्त सूचनालाई आधार मानेर दशैँमा घर जाने बस टिकट लिन आज बिहान हजारौँ यात्रु नयाँ बसपार्क आएपनि बिना टिकट रित्तो हात फर्कनुपर्यो । धनगढीका विष्ट नेपालटारको एक स्कूलमा पढाउछन् । उनले आफ्नो परिवारसहित दशैँमा घर जानका लागि स्कुल विदा लिएर नयाँ बसपार्क टिकट काट्न आएको बताए ।
विष्ट जस्तै सप्तरीको फत्तेपुर जानका लागि टिकट लिन नयाँ बसपार्क आएका इन्द्रदेव वहरदार पनि टिकट नपाएपछि त्यत्तिकै फर्कनुपर्यो । नयाँ बसपार्कको पूर्व कोशी यातायात लेखिएका काउण्टर नं ६ मा टिकट माग्दै उभिएका उनि टिकट नपाएपछि निराश देखिए । उनि टिकट कहिले खुल्छ भनेर काउण्टरमा बसेको व्यक्तिलाई सोध्दै थिए ।
यी त केवल प्रतिनिधि घटनामात्र हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच कुरा नमिल्दा हजारौँ यात्रुहरूले दशैँको मुखमा दु:ख झेल्नुपरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई दशैँको मुखमा यातायात व्यवसायीले टिकट बुकिङ बन्द गर्नु राम्रो नभएको बताउछन् । उनि यातायात व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पुर्याएर समाधान गर्नेतर्फ आफू लाग्ने भन्दै टिकट बुकिङ तत्काल खुलाउन आग्रह गरे ।
“व्यवसायीले भाडा समायोजनका बारेमा राखेका माग, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपासलगायतका विषयमा विभाग गम्भीर छ”– महानिर्देशक भट्टराईले भने।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँमा सवारीसाधन सञ्चालन गर्नका लागि बाटो राम्रो नभएकाले अग्रिम टिकट बुकिङमा समस्या परेको बताए । उनले मन्त्रिपरिषद्को बैठकले छत हटाउने प्रस्ताव पारित गरिसकेको भन्दै छत नभए यात्रुको सामान लैजान समस्या पर्ने भएकाले यो प्रस्ताव फिर्ता लिनुपर्ने माग समेत गरे।
अघिल्ला वर्षमा दशैँको घटस्थापना सुरु हुनुभन्दा १५ दिन अगावै टिकट खुलाउने व्यवस्था गरेपनि गत वर्ष एक हप्ताअघिमात्र टिकट खुलेको थियो । टिकट बुकिङ खुलेसँगै काठमाडौँका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राख्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । उनले यात्रुको सहजताका लागि चाँडो टिकट बुकिङ खुला गनुपर्ने बताए । रासस