arrow

७७ हजारमा भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
Election_-Box1.jpeg

गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् ।  

चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि  ७७ हजारमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेको अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताए ।

प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उनको चुनावका लागि गाउँमा पाँच-पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरिरहेको जनाएको छ ।

मोतीले आफू ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफू जित्ने विश्वाससमेत व्यक्त गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ