arrow

नेता लेखक भन्छन् 'मधेश र मधेशीको अपमान गर्नेलाई सवक सिकाउने बेला अायो'

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
neta_lekhak.jpg

रौतहट। नेपाली काँग्रेसका नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले मधेशी जनतालाई पटकपटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियनले रौतहटको चन्द्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मधेशी जनतालाई शंकाको दृष्टिले मात्र हेर्ने र चुनावको बेला उपयोग मात्र गर्ने पार्टीलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताएका हुन्। 

तराई मधेशवासी विरोधी संकीर्ण पार्टीको रुपमा एमाले आएको उल्लेख गर्दै लेखकले संविधान संसोधन हुन नदिने एमालेको कदम तराई मधेशमाथिको अपमान भएको  बताए। लेखकले भने, ' तराई मधेशको मात्र नभइ देशका अन्य भूगोल, समुदायले चाहेको विषयलाई समेत समेटेर हुन लागेको संविधान संसोधन हुन नदिएर एमालेले मधेशी लगायतका जनतामाथि अपमान गरेको छ। '

लेखकले एमालेले मधेशी भावना नबोक्ने र मधेशी दलले मधेशी मुद्धा बोक्ने प्रयास गरेपनि निष्कर्षमा पुर्‍याउन नसक्ने भएकाले मधेशका मुद्धा निष्कर्षमा पुर्‍याउन काँग्रेस बलियो हुनुपर्ने बताए। उनले भने, ' काँग्रेसले बाहेक मधेशको मुद्धालाई कसैले पनि निष्कर्षमा पुर्‍याउन सक्दैन। बलियो जनमत प्राप्त काँग्रेसले नै तराई मधेशलाई कलियो बनाउँछ। यहाँका मुद्धालाई स्थापित गराउँछ।' लेखकले आफ्ना मुद्धा स्थापित गराउन पनि तराई मधेशले काँग्रेसलाई जिताउने विश्वास व्यक्त गरे। 

एमालेजस्तो मधेश विरोधी पार्टी र मधेशका नाममा गठन भएपनि विभाजित र कमजोर पार्टीहरुले मधेशको हित गर्न नसक्ने लेखकको तर्क छ। लेखकले भने, ' मधेशका मुद्धा सम्वोधन काँग्रेसले मात्र गर्न सक्ने भएकाले तराई मधेशले काँग्रेसकै पक्षमा मत प्रकट गर्ने विश्वास दोहोर्‍याए। '

प्रदेश नम्वर २को स्थानिय तहको निर्वाचन तराई मधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमतसंग्रह भएको लेखकले बताए। मधेशका विपक्षमा रहेकाहरु फेरि जनतालाई भ्रम छर्दै मत माग्न लागिरहेका उल्लेख गर्दै नेता लेखकले तराई मधेशले त्यस्ता प्रवृती र शक्तिलाई निरुत्साहित गर्दै पाखा लगाउनुपर्ने बताए। लेखकले थपे, ' काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैन।भ्रम छर्नेको विश्वास गर्नुहुँदैन।'  लेखकले तराई मधेशबाटै हुर्किएको काँग्रेसले बाहेक तराई मधेशको समस्या अरुले बुझ्न नसक्ने र हल पनि दिन नसक्ने बताए। 

तराई मधेशमा प्रत्येक बर्ष हुने वाढी र डुवानको समस्यालाई दीर्घकालिन हल खोज्न नेपाली काँग्रेस लागिरहेको पूर्वमन्त्री समेत रहेका लेखकले बताए। उनले भने, ' प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणताका समेत नेपाल भारतको साझा समस्या रहेको डुवानको दीर्घकालिन हल खोज्ने प्रयासका लागि द्धिदेशिय कार्यदलले काम थाल्न सहमति भए अनुसार काम शुरु हुन थालेको बताए। '

तराई मधेशको ८ सय किलोमिटर हुलाकी मार्ग बनाउने कामले तिव्रता पाइरहेको र यो काँग्रेसकै सोचबाट अगाडी बढिरहेको नेता लेखकले बताए । तेस्रो चरणको चुनावमा नेपाली काँग्रेसमा तराई मधेशकै सबैभन्दा ठूलो पार्टी हुने र यसले समग्रमा नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने विश्वास काँग्रेस प्रचार समितिका संयोजक समेत रहेका लेखकले व्यक्त गरे। प्रदेश नम्वर २का ८ वटै जिल्ला भ्रमणमा रहेका लेखक रौतहटको पार्टी कार्यक्रममा सहभागि भएर सर्लाही गएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ