बझाङ । प्रतिबन्धित लागुऔषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४५ किलो चरेस र ४७ हजार नगद सहित आइतबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका ५ सैनगाउँका दिपक बोहरा र गिठे बोहरा रहेका छन । उनीहरुले बझाङबाट चरेस लुकाइ छिपाई भारत तर्फ विक्री गर्न लैजान लागेका थिए ।
लागु औसध चरेस निकासी हुन लागेको बारे सुचना पाएको प्रहरी ३ दिन देखी पिछा गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृषिराम कंडेलले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रामबहादुर चन्दको नेतृत्वमा रहेको टोली र नेपाल प्रहरीको प्रदेश अनुसन्धान व्यूरोको संयुक्त टोलीले चरेस सहित व्यापारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
छविस पाथिभेरे गाउँपालिकामा रहेको निमार्णाधीन तारुगाढ लद्युजलविद्युत आयोजनाको पावरहाउस भित्र चरेस लुकाउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भैरहेको र अनुसन्धान पछि आवश्यक कारवाहीका लागि सिफारिस गरिने डिएसपी कँडेलले जानकारी दिए ।
बझाङ सुदुरपश्चिमका पहाडी जिल्लाहरु मध्ये सबै भन्दा बढी चरेस उत्पादन हुने जिल्ला मध्ये पर्दछ । केही दिन अघि मात्र सरुवा भएर बझाङ आएका डिएसपी कंडेलले चरेसको तस्करी र मदिराको कारण बझाङ जिल्लाको बदनाम भैरहेकोले आफुले यसलाई नियन्त्रण गर्नका लागि विशेष मिसन नै चलाउने बताएका थिए।
यस पटक पक्राउ भएको चरेसको परिमाण यस वर्ष कै सबै भन्दा बढी हो । बझाङ जिल्लाबाट मात्र बार्षिक ३० क्विन्टलको हाराहारीमा चरेस निकासी हुने गरेको नेपाल प्रहरीको लागुऔषध अनुसन्धान व्यूरोको अनुमान छ । यद्यपि चरेस तस्करीमा प्रहरीको निगरानी पर्याप्त नभएकाका कारण यो जिल्ला चरेस तस्करहरुको लागी सहज जिल्लाको रुपमा परिचित छ ।