arrow

संसदको आयु र सांसदको जागिर सकिँदै, अर्को नआएसम्म सभामुख रहिरहने

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
samsad-baithak.jpeg

काठमाडौं । व्यवस्थापिका संसदको आयु अब ३९ दिनमात्र बाँकी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद कायम रहने छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै कात्तिक ४ गते संसद विघटन हुने भएको हो ।
कात्तिक ५ गते पहिलो चरणको चुनावको उम्मेदवार मनोनयन तोकिएको छ । नेपालको संविधानको धारा २९६ (१)मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने भनिएको छ ।

यही धारामा भनिएकोछ, ‘त्यस्तो कार्यकाल पूरा हुनु अगावै यस संविधान बमोजिमको प्रतिनिधि सभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने छ’,–भनिएको छ ।

यही व्यवस्था अनुसार कात्तिक ४ गतेबाट अहिलेका सांसदहरुको कार्यकाल सकिने कानुन अध्येयताहरुले बताएका छन् ।
निर्वाचन आयोगले कात्तिक ५ र १५ गते प्रदेश र प्रतिनिधिसभाको मनोनयन दर्ता गर्ने तालिकासहित निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

सांसदको कार्यकाल समाप्त हुने कात्तिक ४ गतेकै दिन संयोगले हिन्दू धर्मावलम्बीहरुको महान् चाड तिहारको भाइटीका परेको छ । व्यवस्थापिका संसदमा अहिले ५ सय ९२ सांसद छन् । संविधान जारी भएपछि संविधान सभा स्वतः रुपान्तरित संसद भएको थियो । सांसदहरुको पदावधि सकिएपनि सभामुख र उपसभामुख भने अर्को सभामुख र उपसभामुख चयन नभएसम्म पदीय हैसियतमै रहने छन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मंसिर १० गते हुने पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते र  दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनय दर्ता तोकेको छ ।  पहिलो चरणमा पहाडी तथा हिमाली ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ, भने दोस्रो चरणमा बाँकी निर्वाचन क्षेत्रमा चुनाव हुनेछ । प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि एक सय ६५ र प्रदेशका लागि तीन सय ३० निर्वाचन क्षेत्र कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ