‘संक्रमणकालको अन्तिम सरकार भएकोले मन्त्रिपरिषद् ठूलो भएको हो’
कुमोद अधिकारी
प्रकाशित २०७४ भदौ २७ मंगलबार
506
Shares
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको कुरालाई संक्रमणकालको अन्तिम अवस्था भनेर वुझन आग्रह गरेका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले संक्रमणकालको अन्तिम सरकार भएको कारण प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद् विस्तारलाई संक्रमणकालीन अवस्था भनेर बुझ्दा ठीकहुने बताए । नयाँ संविधानले मन्त्रिपरिषदको आकार सुनिश्चित गरेकाले निर्वाचनपछि बन्ने सरकार सानो आकारको हुने समेत उनले बताए । संक्रमणकालको यो अन्तिम सरकार हो अध्यक्ष दाहालले भने, ‘अहिलेको मन्त्रिपरिषदलाई अन्तिम भएकाले यसलाई अन्यथा लिनु हुँदैन ।
२ नम्बर प्रदेशका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आएका अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले अत्यन्तै विकृत ढंगले पैसा खर्च भइरहको बताए । अध्यक्ष दाहालले २ नम्बर प्रदेशको निर्वाचनलाई आफुले नजिकबाट हेरिरहेको भन्दै, पार्टीहरुले अत्याधिक पैसा खर्च गरेकोले अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म यहि अवस्था रहिरहने बताए ।
अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद निर्माण गर्ने व्यवस्था नबनाएसम्म समस्या समाधान नहुने पनि बताए । मधेशका जनताले माओवादीलाई माया गरेको र पार्टी प्रवेशको लहर चलेको आफूले पाएको बताउँदै उनले अहिलेको निर्वाचनबाट दुईवटा अतिवाद परास्त हुनुपर्ने निष्कर्षमा जनता पुगी सकेको वताए ।
मुलुकमा केही समयदेखि अति उच्च अहंकार राष्ट्रवाद र मधेश टुक्र्याउने अति राष्ट्रवादका कारण समस्या सिर्जना भएको भन्दै अध्यक्ष दाहालले आन्दोलनरत सवैदल निर्वाचनमा सहभागी भएसँगै गएको दावी गरे । अर्को प्रसंगमा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार भएको छ भने कारबाही हुनुपर्ने पंक्षमा आफु रहेको बताए ।
उनले आयल निगमको जग्गा खारिद प्रकरणमा बेथिति भएको हो भने गम्भीर रुपमा कडा कदम चाल्न आपुर्ति मन्त्री शिवकुमार मण्डललाई आपूmले भनिसकेको वताए ।