काँग्रेसले चुनावमा घात गर्ने क–कसलाई गर्दै छ कारबाही ?
प्रकाशित २०७४ भदौ २७ मंगलबार
367
Shares
काठमाडौं । सत्ताधारी काँग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्र्तघात गर्ने नेता कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । विभिन्न जिल्लाबाट आएका उजुरीका आधारमा काँग्रेसले कारबाही प्रक्रिया थालेको हो ।
मंगलबार बसेको काँग्रेस केन्द्रीय अनुशासन समिति बैठकले चुनावमा अन्तर्घात गरेको भन्दै त्रिवि उपकुलपति डा.तीर्थ खनियाँसहित पूर्वकेन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठ, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदिश्वरनरसिंह केसी, रुकुमकी सांसद मिठु मल्ल, जुम्लाका सांसद ललितजंग शाही, जुम्ला सभापति जितबहादुर शाही, दैलेख सभापति कृष्ण बीसी र प्रधानमन्त्री देउवाकै गृहजिल्ला डडेलधुराका पार्टी सभापति कर्ण मल्ललाई स्पष्टीकरण सोधेको छ ।
डडेल्धुरा सभापति मल्ल र प्रधानमन्त्री पत्नी आरजु राणा देउवासँग लामो समयदेखि विवाद छ । मल्लले स्थानीय तहको चुनावको टिकट वितरणका क्रममा केन्द्रीय कार्यसमितिलाई चेतावनी पत्र समेत लेखेका थिए । यस्तै, त्रिवि उपकुलपति खनियाले चितवन चुनावमा घात गरेको आरोप लगाइएको छ ।
विभिन्न जिल्लाबाट अन्र्तघातका २ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । उजुरी परेकाहरुलाई सात दिनभित्र चित्त बुझ्दो जवाफ दिन भनिएको छ । ‘पत्र प्राप्त भएको मितिले सात दिनको लिखित स्पष्टीकरण मागिएको छ, त्यसपछि थप प्रक्रिया अघि बढ्छ,’ अनुशासन समितिका अध्यक्ष रमेश रिजालले भनेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा बसेको बैठकले उजुरी परेकाहरुसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गतेभित्र उजुरी दिन भनेको छ । बैठकले अनुशासन समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव एवम् अधिवक्ता केशव रिजाललाई नियुक्त गरेको छ ।