कांग्रेस, मधेश र पहाड जोड्ने पुल अरु सबै पर्खाल : प्रदीप पौडेल
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
689
Shares
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसमात्र मधेश र पहाडलाई जोड्ने पुलको रुपमा रहेको र अन्य पार्टीहरु पर्खालको रुपमा रहेकोले देशलाई एकताबद्ध गरी विकास र समृद्धिको मार्गमा लैजान यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । तराईका विभिन्न जिल्लामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै पौडेलले मधेश समृद्ध भएमा मात्र सिंगो नेपाल समृद्ध हुन सक्ने धारणा व्यक्त गरे।
“देशलाई समृद्ध बनाउन आवश्यक जमीन, जल र जनशक्ति सहितका स्रोतहरु पहाड र तराईमा सबैतिर छरिएर रहेकोले तिनको योजनाबद्ध सदुपयोगबाट मात्र समृद्धि हासिल हुन सक्छ ” नेता पौडेलले भने । पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले मधेशको समस्या सम्बोधन गर्न नसक्ने ठोकुवा गर्दै मधेश कांग्रेसको आत्मा भएको पनि बताए । मुलुकमा हावी हुँदै गएको अतिवादी सोचको मारमा मधेश परेको उल्लेख गर्दै युवा नेता पौडेलले भने , कांग्रेस मात्र मधेश र पहाड जोड्ने पुल हो, अन्य सबै दल मधेश र पहाड बीचको पर्खाल हुन् ।
विगतमा मधेश नै नेपाली कांग्रेसको भोट बैंक प्रमाणित भएको स्मरण गर्दै पौडेलले जातीय तथा सांस्कृतिक सद्भाव कायम गर्दै मधेशलाई समुन्नत बनाउन यस पटक पनि सबैले नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताए । धार्मिक, सांस्कृतिक, ऐतिहासिक जतिपनि पृष्ठभूमिका कारण मधेश समृद्ध भएको छ, त्यसको सही प्रचार प्रसार हुन सकेको छैन, अब मधेशलाई हरेक कोणबाट समृद्ध बनाउने ग्यारेण्टी कांग्रेसले लिन्छ नेता पौडेलले भने ।
नेता पौडेलले बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।
नेता पौडेलसँगै नेविसंघका महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नेताहरु बलदेव तिमल्सिना, जीत शेरचन, माधव ढकाल, रत्नहरि ढुंगेल, विपिन अधिकारी, प्रकाश सेढाई, दुर्गा कावडी लगायतले पनि चुनावी आमसभाहरुलाई सम्बोधन गर्दै मधेशको माटोलाई अन्तरमन देखि सम्मान गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको धारणा राखेका थिए ।