मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो
प्रकाशित २०७४ भदौ ३१ शनिबार
728
Shares
काठमाडौँ। मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ । आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ ।
खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ । ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् ।
मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। “वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन । अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक÷दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ,”–उनले भने।
मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउँसो ताते पनि साँझपख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ । यो वर्ष १२ जुन (जेठ २९ गते) बाट नेपालमा मनसुन शुरु भएको थियो । सामान्यतः सेप्टेम्बर २६ (असोज ८ गते) मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद्को आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबै भन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपालगञ्जमा ३२ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम १८ डिग्रिसेल्सियस रहेको छ । रासस