arrow

तीनकुनेमा राखेको टिभिएसको स्टल महानगरप्रहरीले भत्कायो

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असोज १ आइतबार
mahanagar_police.jpg

काठमाडौं । गत विहीबारदेखि दशैं विशेष मोटरसाईकल एक्सचेन्ज अफर भन्दै टिभिएस कम्पनीले काठमाडौंको तीनकुनेमा राखेको स्टल आईतबार विहानै महानगरप्रहरीले भत्काएको छ । गैरकानूनी रुपमा महानगरपालिकाको जग्गामा राजश्व नै नतिरी र स्वीकृति पनि नलिई स्टल राखिएको विषयमा हाम्राकुरा डटकमले शुक्रबार साँझ समाचार प्रकाशित गरेको थियो । यसरी गैरकानूनी रुपमा स्टल राखिएको सार्वजनिक भएपछि आईतबार विहानै महानगरपालिकाको झण्डै डेढ दर्जनको संख्यामा गएको प्रहरीको टोलीले सो स्टलमा राखिएका विज्ञापनका ब्यानरहरु च्यातचुत पारेर लिएर गएका हुन् । 

विहान साढे ८ बजेतिर महानगर प्रहरीका डिएसपी विष्णु जोशीको नेतृत्वमा गएको टोलीलाई त्यही रहेका सुरक्षाकर्मी र अन्य केही मानिसहरुले स्टल नउठाउन सामान्य आग्रह गरेका थिए । तर, महानगरप्रहरीले एकाएक दुईदिशाबाट घेराहाली सबै सामान उठाएको थियो । त्यो स्टल आईतबार उठाईँदैछ भन्ने कुरा शनिबार साँझ नै कम्पनीलाई जानकारी दिईएको थियो । त्यसैले दायाँबायाँ टाँगिएका त्रिपालहरु नच्यातियोस् भन्नको लागि कम्पनीले खटाएका सुरक्षागार्डहरुले उनीहरु आउनुभन्दा पहिले नै त्रिपाल निकाल्नको लागि सहजीकरण गरिदिएका थिए । 

महानगरपालिका स्रोतका अनुसार आधिकारिक रुपमा राजश्वमा पैसा नतिरी महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र कार्की र महानगरीय प्रहरी महाशाखा प्रमुख विष्णु जोशीको मौखिक सम्झौता गरी राखिएको स्टलबारे समाचार प्रकाशित भएपछि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा सामान उठाईएको हो । धेरै वर्ष अघि अधिग्रहण गरेर काठमाडौं महानगरपालिकाको स्वामित्वमा त्याईएको तीनकुने पार्कको जग्गामा ‘टिभिएस मेगा एक्सचेन्ज मेला’को नाममा स्टल राखिएको थियो । 

३२ नं वडामा पर्ने यो क्षेत्रमा सरकारी जग्गामाथि गरिएको अतिक्रमणको बारेमा सोही वडाका वडाध्यक्ष नवराज पराजुलीसँग कुराकानी गर्दा उनले यस विषयमा केही पनि प्रतिक्रिया नदिई सबै कुराकानी अच्युत पराजुली भन्ने जग्गा धनीसँग बुझ्न आग्रह गरेका थिए। त्यो क्षेत्रको जनप्रतिनिधि भएपनि उनले त्यो स्टलको बारेमा केहीपनि कुरा बोल्न चाहेका थिएनन्। 

त्यसपछि वडाध्यक्ष पराजुलीले नै भनेको मानिससँग कुराकानी गर्दा उनी एकाएक आक्रोशित बन्दै त्यो आफ्नो व्यक्तिगत जग्गा रहेकोले आफ्नो जग्गामा जेको शोरुम राख्न दिने नदिने आफ्नो अधिकारको विषय रहेको बताएका थिए । तर, महानगरप्रहरीले आईतबार स्टल भत्काईरहँदा भने पराजुली त्यहाँ देखिएनन् । 

त्यो जग्गा महानगरपालिकाबाट पहिले नै अधिग्रहण भईसकेको जग्गा हो । यसमा मुआब्जाको विषयमा असन्तुष्टि जनाउँदै केही जग्गाधनीहरुले मुआब्जा लिन मानिरहेका छैनन् । जे जस्तो भएपनि त्यो जग्गा आफ्नो बनाएर काठमाडौं महानगरपालिकाले सार्क सम्मेलनको समयमा जस्ता लगाउनेदेखि पूर्वकार्यकारी अधिकृत ईश्वरराज पौडेलको समयमा केही पर्खाल लगाउने काम समेत भईसकेको छ । 

दोस्रो कुरा काठमाडौं महानगरपालिका क्षेत्रभित्र कतैपति त्यस्ता व्यवसायिक स्टलहरु राख्नुपूर्व जग्गाधनीसँगमात्रै स्वीकृति लिएर हुँदैन । त्यसको लागि महानगरपालिकाको राजश्व विभागसँग अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ । तर, महानगरपालिकाका राजश्व विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्गले शुक्रबार हाम्राकुरासँगको कुराकानीमा टिभिएसले त्यहाँ स्टल राख्नको लागि आफूहरुसँग स्वीकृति नलिएको स्पष्ट पारेका थिए। 

Image may contain: one or more people, sky and outdoor

Image may contain: one or more people, sky, car and outdoor

Image may contain: one or more people, people standing, sky and outdoor

Image may contain: sky and outdoor

Image may contain: sky and outdoor

Image may contain: one or more people, sky and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ