'पोखरामा विदेशी पाहुनालाई सधैँ आउँ-आउँ बनाउनुस् है'
प्रकाशित २०७४ असोज २ सोमबार
515
Shares
पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा सोमबार देखि सञ्चालन गरेको छैठौँ सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राखे ।
मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताए । पोखरा सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय नगर भएको उल्लेख गर्दै उनले नगर रेष्टुरेन्टले स्वादिष्ट र स्वस्थ्यकर खानाका परिकार खुवाएर विदेशी पाहुनालाई सधैँ आउँ-आउँ जस्तो पार्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हुने गरेका मेला र महोत्सवले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्तगरे ।
असोज ११ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा उपभोक्तालाई आवश्यक दैनिक उपभोग्य वस्तुलगायत खसी बोका र च्यांग्राको बिक्री वितरण गरिने छ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्नेजस्ता प्रतियोगिता गरिने छ । महोत्सवमा १२५ वटा कक्ष राखिएको छ ।