देश आर्थिक समृद्धिको यात्रामा जाने उपराष्ट्रपतिको विश्वास
प्रकाशित २०७४ असोज ३ मंगलबार
271
Shares
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सोही उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचन घोषणा भइसकेको बताउँदै संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नं २ मा उत्सवका रुपमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने मतदातामा बधाई ज्ञापन गरेका छन् ।
स्थानीय तहमा जस्तै प्रदेश र संघको निर्वाचनमा उत्साहका साथ सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा दु्रततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।