arrow

सबैलार्इ चासो रारा तालको यता तारा तालको अस्तित्व भने संकटमा परिसक्यो

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
tara-lake.jpg

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ । तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो । 

राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन । ताल पुरिने क्रमसँगै मुख्य आकर्षणका रूपमा रहेको कमलसमेत लोप हुन लागेको ताल नजिकैको क्षेत्रमा बस्दै आएका नरिभान ढुंगेलले बताए। 

“ताल सुकेपछि कमलको जरा नै उखेलेर जंगली बँदेलले खाने गरेकाले कमल लोपोन्मुख अवस्थामा पुगेको छ”, उनले भने । भदौ, असोजका महिना तालमा ढकमक्क कमल फुलेको टाढैबाट देखिन्थ्यो तर आजभोलि ताल क्षेत्रमा बेसरम झारमात्रै देखिने गरेको छ । 

तालमा बस्दै आएका रैथाने प्रजातिका जलपक्षी, गोही र विभिन्न प्रजातिका माछासमेत लोप हुने संघारमा पुगेका छन् । गोही, विभिन्न प्रजातिका माछा, सेतो प्रजातिको बकुल्ला र कालो हाँसको प्रमुख वासस्थानका रूपमा रहेको तारा तालमाथि अतिक्रमण हुन थालेपछि ती जलचर र पक्षीसमेत देखिन छाडेका छन् । तालको पूर्वतर्फको पूरै भाग पुरिएको छ । तालको डिल भत्किँदा खोलामा परिणत भएको छ । 

निकुञ्जले संरक्षणका लागि कार्य अगाडि नबढाउँदा तालको अस्तित्व नै लोप हुने संघारमा पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । दश बिगाहा क्षेत्रफलमा फैलिएको तालमा हाल एक बिगाहा क्षेत्रमा मात्रै पानी रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ