arrow

के बोले यस्तो प्रचण्डले ? ‘एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा’

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
pmprachandadahal.jpeg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।  

प्रेस सेन्टर चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताए । 

एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा दाहालले भने, “सम्भावना छ भन्ने विश्वासमा छु ।” सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ । 

यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए । दाहालले भने, “तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपा एमालेसँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उनले ठोस निष्कर्षमा नपुगेको बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए । 

बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने पनि बताए । बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् । दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाँदरमुढे पीडितले पनि राहत पाउने आशा गरेका छन् । 

निर्वाचनमा उठ्ने भएपछि विभिन्न कार्यक्रममा दाहाल सहभागी हुने क्रम बढ्दो छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन दाहाल यहाँ आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ