काठमाडौं । राष्ट्रसंघको ७२औँ महासभामा सहभागि हुन अमेरिका गएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै छन् । देउवा बेलुकी पौने ८ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।
देउवा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ३ गते अमेरिकाको न्युयोर्क जानुभएको थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता पनि गरे । न्यूयोर्कमा रहँदा देउवाले सार्क क्षेत्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखसँग पनि भेटवार्ता गरेका थिए ।
अमेरिकाबाट प्रधानमन्त्री ओमान प्रस्थान गरेका थिए । ओमानमा पनि गार्ड अफ अनर आएका देउवाको त्यहाँका उपप्रधानमन्त्रीसँग भेट भएको थियो । भेटमा ओमनका उपप्रधामन्त्री सइदले नेपालमा दुतावास खोल्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई लगायत छन् ।