arrow

महानवमी पर्वः हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा भीड

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
Dashian-final.jpeg

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व शुक्रबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । 

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । 

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिनेहरूले भने कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । 

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । 

कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । 

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । 

बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । 

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यसै दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ । 

महानवमीका अवसरमा नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ