भक्तपुर । बडादशैँको दिन मध्य रात्रि मनाइने तलेजुमा पायः जात्रा अर्थात् खड्ग जात्रा शनिबार राति सम्पन्न भएको छ ।
तलेजु भवानीको साक्षात् रुप मानिने पायःद्यो (देवता) लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याइ जात्रा मनाइन्छ ।
बडादशैँको साँझपख तलेजु आगम मन्दिरको ख“ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताउँछन् ।
खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ ।
पाय द्योः दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन छ ।
चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने तलेजुका नाइके बताउँछन् ।