विराटनगर । सुनसरीमा पिकअप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
महेन्द्र राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ मा दुर्घटना हुँदा इटहरी–८ बस्ने अन्दाजी ५५–६० वर्षकी विष्णुमाया जमरकट्टेलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च ९७८३ नंको सो पिकअपले बाटो काट्दै गरेका साइकलयात्रीलाई बचाउन खोज्दा विद्युतीय खम्बामा ठोकिएपछि सो दुर्घटना भएको थियो ।
जमरकट्टेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही दुर्घटनामा सुनसरीको रामधुनी–५ बस्ने मनिष धमला र सोही ठाउँ बस्ने भगवती धमला, आकृति धमला, विमला पोखरेल, करुणा अधिकारी र उनका आठ महिनाका छोरा आदर्श घाइते भएका छन् । घाइतेहरुको इनरुवास्थित अस्पतालमा उपचार भइरहेको छ ।