सीमा अतिक्रमण रोक्ने देवनारायणलाई भारतीय प्रहरीले लगायो अपहरण मुद्दा
प्रकाशित २०७४ असोज १७ मंगलबार
671
Shares
कञ्चनपुर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।
सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोहि बिषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।
गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतीकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थिए ।
उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् ।
केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ ।
तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रुपमा लिएका छन् ।