arrow

एमाले र माओवादी केन्द्रसँगै बाबुरामपनि एकतामा आउने सहमति भईसक्यो : रायमाझी 

एमाले र माओवादीवीच एकता स्वागतयोग्य : राजपा 

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
TOP-Bahadur.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बाबुराम भट्टराई र उपेन्द्र यादवसहित नेकपा माओवादी केन्द्रले एमालेसँग एकता गर्ने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मुलुक र जनताको आवश्यकत्ता भएकोले अब बृहत्त एकताको खाँचो भएको बताए । उनले भने,‘बाबुरामजी पनि एकतामा आउने सहमति भैसकेको छ, उपेन्द्रजीसँगपनि कुराकानी भैरहेको छ।’ त्यस्तै उनले मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लव लगायतका अन्य साना कम्युनिष्ट पार्टीहरु पनि एकता प्रक्रियामा सहभागी हुने विश्वास दिलाए । नेता रायमाझीले राष्ट्रको आवश्यकत्ता समृद्धि भएकोले त्यो लक्ष्य हाँसिल गर्नको लागि पनि कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताए । 

उनले भने,‘मुलुकले अब १५० वटा पार्टीहरु धान्ने स्थिति छैन, वामपन्थीहरुको जनमत दुई तिहाई छ, त्यसैले हामीले एकता गर्न लागेको हो।’ यद्धपी उनले नेपालमा वामपन्थीहरु कुरा गर्छन् तर जुट्दैनन् भन्ने विगतका आशंकाहरुलाई यो पटक गलत सावित गरेरै छाड्ने स्पष्ट पारे । रायमाझीले थपे,‘अब ती भ्रम र आशंकाहरु सबै क्लियर हुन्छन्।’ संविधान कार्यान्वयन, आर्थिक समृद्धि र स्थायित्वको लागि पनि दुई पार्टीवीचको एकता आवश्यकत्ता भएकोले आफूहरु मिलेको उनको भनाई थियो । उनले भने,‘हुन त हामीले यो विषयमा ०६४ सालमै महशुस गरेका थियौं, त्यतिवेला डकुमेन्ट समेत तयार भएको थियो, के जादु भयो र त्यो एकताको प्रयास भाँडियो, अहिले आएर दुवै पार्टीले त्यो कुरा महशुस गरेका छौं।’

त्यस्तै उनले पार्टी एकतापछि आलोपालो नेतृत्व गर्ने सहमति भएको समेत जानकारी दिए । पहिले नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने र त्यसपछि केपी शर्मा ओलीले गर्ने सहमति भएको उनको भनाई थियो । रायमाझीका अनुसार दुवै पार्टीवीचको एकताको पहिलो सुरुवात चुनावी तालमेलबाट सुरु हुनेछ । उनले भने,‘संभव भए आजै चुनावी तालमेलबारे संयुक्त पत्रकार सम्मेलन हुन्छ, नभए एक दुई दिनभित्रै हुन्छ, तर ढुक्क हुनुहोस अब ढिलो हुँदैन्।’

त्यस्तै उनले एमालेसँग एकता भएपनि अहिलेको सरकारले नै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउने विश्वास दिलाए । उनले थपे,‘चुनाव यही सरकारले गराउँछ, हामी सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं ।’ कांग्रेससँग भएको सहमति तोड्न अहिले जरुरी नरहेको उनको भनाई थियो । यद्धपी उनले एमालेसँगको एकतापछि वा गठबन्धनपछि कुनै चमत्कार भए फेरि सरकार तलमाथि हुन सक्नेतर्फ संकेत गराए । 

रायमाझीले एमालेसँगको एकता कसैसँग आग्रह वा पूर्वाग्रह राखेर नगरिएको समेत जिकिर गरे। उनले थपे,‘यो त राष्ट्र निर्माणको महान अभियान हो, हामीलाई कसैसँग पूर्वाग्रह छैन।’ 
एमालेसँगको पार्टी एकता अब कसैको दबाबमा नरोकिने समेत उनको दाबी थियो । उनले भने,‘सहमतिपत्रको डा«फ्ट नै तयार भैसक्यो, कसरी जाने भन्नेबारे सहमतिको क्रममा छौं, गृहकार्य भैरहेको छ, दुवै पार्टीका नेतृत्वहरु सँगै बसेर यसबारेमा छलफल भएकोछ, सहमति भएपछि सबै कुरा बाहिर आउँछ।’त्यस्तै उनल चुनाव चिन्ह के लिने भन्नेबारे आफूहरुलाई ठूलो विषय नभएको समेत स्पष्ट पारे । ‘चुनाव चिन्ह के लिने भन्ने विषय हाम्रो लागि गौण विषय हो, मुख्य कुरा सैद्धान्तिक सहमति हो, उनले थपे,‘सुर्य चिन्ह पनि हुन्छ, वा हँसिया हथौडापनि हुन सक्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यज्ञ सुुनुवारले एमाले र माओवादीवीचको एकता कुनै अवसरको लागि नभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो त समयको माँग हो, अहिले एकताको निर्णयसँगै राजनीतिमा खासगरी वामपन्थीहरुवीच उर्जा पैदा भएको छ।’ मुलुकलाई आर्थिक क्रान्तिको दिशातर्फ अघि बढाउनको लागि वामपन्थीहरुवीचको बृहत्त एकता आवश्यकत्ता भएर नै अहिले सुरुवातमा माओवादी र एमालेवीच एकता हुन लागेको उनले जनाए । 

उनले भने,‘मुलुकको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि हाम्रो एकता महत्वपूर्ण छ।’ ७० वर्षे लामो नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहाँसमा अहिलेसम्म कम्युनिष्टहरुले बहुमत ल्याउन नसकेकोले अब मुलुकलाई एकपटक आर्थिक क्रान्तिको बाटोमा अघि डोर्याउनको लागि यो एकता अर्थपूर्ण रहेको उनको भनाई थियो । यद्धपी उनले एकता घोषणा भन्ने कुरा एकै रातमा हुने कुरा नभएको स्पष्ट पारे । उनले भने,‘अहिले वैचारिक रुपमा छलफल भएको छ, आम जनताको चाहना हो, दुवै पार्टीका नेतृत्वले अत्यन्तै संयम भएर अहिले कदमहरु चालिरहनुभएको छ, विरोधीहरुले एकता भाँड्न चलखेल गर्नु स्वभाविक हो, तर हामी होशियार भएर लागेका छौं।’ उनले दुवै पार्टीवीचको एकताको प्रयास गर्वको विषय भएको बताए । 

राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेवीचको एकताको स्वागत गरेका छन् । उनले भने,‘पार्टीहरु मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’ उनले पार्टी एकतालाई लिएर आफूहरु खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे । उनले वामपन्थी एकता हुनु भन्दापनि दलहरु एक हुनु खुशीको कुरा भएको टिप्पणी गरे । फरक प्रसँगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्न आफूहरु खुल्ला रहेको स्पष्ट पारे । त्यसको लागि पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नेपाल रहेको उनले जनाए । त्यस्तै उनले लोकतन्त्रवादी शक्तिहरु अब एक हुनुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ