काठमाडौं । मंगलबार घोषणा भएको बाम एकीकरणमा नेकपा मालेले तत्काल सहभागिता नजनाउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मालेका महासचिव सिपी मैनालीले तत्काल आफ्नो पार्टी बाहिर हल्ला भएजस्तो बाम एकीकरणमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् । उनले अहिले आफूहरुले एकताको कल्पना समेत नगरेको भन्दै अहिले चुनावको मुख रहेकोबेला बरु चुनावी तालमेलको बारेमा सोच्न सकिएपनि, तर बाहिर आएजस्तो एकता हुने कुरा भने सम्भव नरहेको स्पष्ट पारे ।
महासचिव मैनालीले आफूहरुको सैद्धान्तिक विचारदेखि लिएर अन्य विभिन्न पक्ष समेटेर महत्वपूर्ण आठ दश वटा विषयहरु रहेकोले त्यसमा सहमति नभएसम्म एमाले नेतृत्वको मोर्चासँग एकता नहुने ठोकुवा गरे । उनले थपे, ‘पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर विचार र सिद्धान्त मिल्नेहरुकोवीचमा मात्रै एकता हुनुपर्छ, हाम्रो अहिले उहाँहरुसँग कुनै एजेण्डा नै मिल्दैन् ।’ उनले चुनावअघि एकताको कुरा गर्नेबारे आफूहरुलाई कुनै फुर्सद समेत नरहेको जिकिर गरे । मैनालीले भने, ‘नजाने गाउँको बाटो नै नसोध्नुहोस्।’
नेता मैनालीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनाव तालमेल र एकता प्रयास तमासा बन्न नहुने धारणा राखे । उनले थपे, ‘उहाँहरुवीचको एकता प्रयास अत्यन्तै सकारात्मक छ, म स्वागत नै गर्छु, हाम्रो पार्टीले स्वागत गर्छ ।’ त्यस्तै उनले माओवादीसँगको एकता प्रयासले एमालेलाई राष्ट्रवादी शक्ति बन्ने अवसरबाट कतै बञ्चित त भएको होईन भन्ने पनि बहस सुरु भएको टिप्पणी गरे ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले नेपाली काँग्रेससँग पनि तालमेल गर्न सकिने जनाएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे । उनले मंसिरमा हुने चुनावमा एमाले–माओवादी केन्द्र र नयाँ शक्तिवीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँगपनि तालमेल हुने जनाए । उनले भने, ‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन्, चुनावी एकतामात्रै हुन्छ ।’
अध्यक्ष केसीले तीन पार्टीवीच भएको एकत प्रयासलाई आफूले आश्चर्यको रुपमा नलिएको बताए । उनले भने, ‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो । उनले भने,‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो।’ एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीले बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं ।’