काँग्रेस बैठक : वृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने देउवाको प्रस्ताव
एमाले, माओवादी र नयाँशक्तिको एकता संविधानको हित विपरीत
प्रकाशित २०७४ असोज १८ बुधबार
737
Shares
काठमाडौं। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले वृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने प्रस्ताव राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले वृहद् लोकतान्त्रिक मोर्चा गठनको प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री देउवाले यही सरकारले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउने पनि बताएका छन्।
यस्तै, बैठकमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकता प्रयास संविधानको हितमा नरहेको चर्चा भएको छ।
बैठकमा बोल्ने नेताहरुले कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गर्ने एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको सहमति संविधानको हितमा नरहेको टिप्पणी गरेका हुन्। अधिकांश नेताहरुले दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति संविधान कार्यान्वयनको हितमा नरहेको धारणा राखेको नेता विमलेन्द्र निधिले बताएका छन्।
प्रधानमन्त्री देउवाले आफूले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी राजपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलगायतका दलहरुसँग पनि छलफल सुरु गरेको बैठकमा जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सहभागि भए ।