काठमाडौं । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा भइरहेकै बेला दश दलले भने सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी, नेकपा संयुक्त माक्र्सवादी, जनसमाजवादी पार्टी लगायत दश दलले गठबन्धन बनाएर विहिबार शान्तिवाटीकामा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
यो गठबन्धनले सप्तरी तिलाठीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गर्दा सरकार मौन रहेको भन्दै सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको हो ।
दश दलको संयुक्त बैठकले भारतीय प्रशासनले तिलाठीमा यादवले गरेको प्रतिकारको प्रतिशोध लिनको निम्ति गिरफ्तारी गरेको भन्दै भारतीय पक्षको निन्दा गरेको छ । पोहोर साल तिलाठीको नेपाल–भारत सीमानाको दशगजा क्षेत्रभित्र भारतीय पक्षले अतिक्रमण गरी खाँडो खोलामा बनाएको बाँधको विरोध गर्ने संघर्षको नेतृत्व देवनारायणले गरेका थिए ।
सरकारले नै सच्चा राष्ट्रवादीको सम्मान–पत्र प्रदान गरेका नागरिकलाई भारतीय प्रशासनले गिरप्तार गर्दा संवेदनहीन देखिनु आश्चर्यको कुरा भएको गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनमा रहेका दलहरुले देवनारायण सहित छोरा अजयको निःशर्त र सम्मानजनक रिहाईको लागि अविलम्ब पहल गर्न र सीमा क्षेत्रमा नेपाली नागरिकमाथि भारतीय पक्षद्वारा गरिने दुव्र्यवहारलाई प्रभावकारी ढङ्गले रोक्न सरकारसँग माग गरेका छन् ।