चाडपर्वमा तीन गुणा महंगो हुन्छ मेची राजमार्गको यात्रा
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असोज १९ बिहिबार
255
Shares
पाँचथर। चाडपर्वको मौका छोपेर मेची राजमार्गमा सञ्चालन हुने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुली गरेका छन् । तोकिएको भाडादर भन्दा झण्डै तेब्बर बढीसम्म रकम लिएको यात्रुहरुले गुनासो गरेका छन् ।
झापाको विर्तामोड बाट पाँचथर सदरमुकाम फिदिम सम्मको जिपमा ५ सय रुपैया भाडा निर्धारण भएको भएपनि सवारी चालकहरुले भने तेब्बर वढि १ हजार ५ सय रुपैया सम्म भाडा लिएका छन् । विर्तामोड बाट फिदिम सम्म आउँदा आफूहरुलाई १ हजार रुपैया सम्म सवारी चालकहरुले भाडा लिएकी फिदिम २ की अम्बिका ओझाले बताइन् । तोकिएको भन्दा वढि रकम सवारी चालकहरुले यात्रुहरु बाट लिएको गुनासो आएपछि आफूहरुले अनुगमनलाई तिव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तोकिएको भन्दा वढि रकम लिएको गुनासो आएको खण्डमा सवारी चालकहरु बाट रकम फिर्ता समेत गराइएको कार्यालय प्रमुख प्रेम कुमार शाहले बताए । चाडपर्वको मौका छोपेर बढी भाडा लिने तथा यात्रुहरु नचढाउने, यात्रुहरुलाई दुब्र्यवहार गर्ने जस्ता क्रियाकलाप गरे जिल्लामा स्थापना भएको यात्रु सहायता कक्षमा आएर गुनासो गर्न सकिने उनले बताए ।
उनले भने,“चाडपर्वको बेला हामीले यात्रुहरुलाई यस्तै विभिन्न किसिमका समस्या आइपर्दछन् भनेर यात्रु सहायता कक्ष पनि स्थापना पनि गरेका छौ, तर यात्रुहरुले आफूहरु ठगिँदा पनि ठगिएको गुनासो नभन्दा आफूहरुलाई कारवाही गर्न असहज भएको छ ।” पाँचथरको ग्रामिण भेगमा संचालन हुने सवारी साधानहरुले समेत तोकिएको भन्दा वढि भाडा लिएको पाइएको छ ।