प्यूठान काँग्रेसले भन्यो-सीइओ पोखरेललाई तथ्य वंग्याएर बद्नाम गर्न खोजियो
वास्तविकता के हो ?
प्रकाशित २०७४ असोज १९ बिहिबार
994
Shares
काठमाडौं । पुनःनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइअो गोविन्दराज पोखरेलविरुद्ध अनर्गल प्रचार भएको भन्दै प्यूठानका काँग्रेस कार्यकर्ता आक्रोशित भएका छन् ।
प्यूठान जिल्ला कार्यसमिति सभापति अमर भण्डारीले पोखरेल काँग्रेस महासमिति सदस्य भएपनि पार्टीगत भेटघाटमा सरिक नभएको र प्रचारमा आएजस्तो सरकारी सेतो नम्बर प्लेटको गाडि पनि प्रयोग नगरेको बताए ।
उनले भने, ‘जिल्लाबाट निर्वाचन आयोगलाई रिपोर्टिङ गर्ने र समाचार लेख्नेहरुले तथ्य बंग्याएका छन् । प्यूठानबाट उहाँ सर्वसम्मत प्रतिनिधि सभाका लागि सिफारिस भएपनि उहाँको लोकप्रियतादेखि तर्सिनेहरुले यस्तो गरेका हुन् ।’ पारिवारसँग भेटघाटका लागि प्यूठान पुगेका पोखरलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृतले असोज १० देखि १८ गतेसम्म प्युठान जिल्लाका विभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा यहाँ जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै दलविशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेश गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा गोविन्द पोखरेललाई स्पष्टीकरण सोध्ने ।’
नेपाली काँग्रेस प्यूठानले क्षेत्र र जिल्ला समितिका कुनै कार्यक्रममा सहभागि नभएको र आफन्जन भेट्न जाँदा रातो प्लेटको व्यक्तिगत गाडि प्रयोग गरेको जनाएको छ । पोखरेलको लोकप्रियताबाट तर्सिएकाहरुले अबको चुनावमा धाधली गर्न खोजेको सभापति भण्डारीले बताएका छन् ।