गृहमन्त्री शर्मा विरुद्ध निर्वाचन कार्यालय रुकुममा उजुरी दर्ता
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ असोज २१ शनिबार
673
Shares
रुकुम। निर्वाचन आचारसंहिता उलंगन गरेको भन्दै गृहमन्त्री जनार्दन शर्मा विरुद्ध जिल्ला निर्वाचन कार्यालय पश्चिम रुकुममा उजुरी दर्ता भएको छ। गत बिहिबार आचारसंहिता विपरीत गृहमन्त्री शर्माले पूर्वी रुकुमका विभिन्न कार्यालयको उद्धघाटन गरेको भन्दै नेपाली काँग्रेस रुकुमले निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको हो।
१९ गते विहिबार पूर्वी रुकुमका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको उद्धघाटन गर्नुका साथै रुकुमकोटमा भएको कार्यक्रमलाई गृहमन्त्री शर्माले सम्बोधन गरेका थिए। पूर्वी रुकुमको सदरमुकाम नतोकीएको अवस्थामा उनी सो कार्यक्रमलाई सम्बोधन गर्दे पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा नै भएको जानकारी समेत गराएका थिए।
यस्ता अभिव्यक्ती निर्वाचन आचारसंहिता विपरीत भएको र यसले समाजमा द्धन्द्ध उत्पन्न हुने काँग्रेसको ठहर रहेको छ। यसका साथै सोहि दिन उनले पश्चिम रुकुमको सदरमुकाम खलंगामा सुरु भएको साँस्कृति तथा पर्यटन महोत्सवको उद्धघाटन कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए।
आफ्नो लोकप्रियताको भ्रम छर्नको लागि गृहमन्त्री शर्माले सत्ताको दुरुपयोग गरेर निर्वाचन आचारसंहीता विपरीत विभिन्न कार्यक्रममा आएर अरु पार्टीका विरुद्धमा अभिव्यक्ती दिएकोले निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको नेपाली काँग्रेस रुकुमका सचिव भिमबहादुर खड्काले जानकारी दिए।
शुक्रबार साँझ जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको उजुरीको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको जिल्ला निर्वाचन अधिृकत कमलमणी देवकोटाले जानकारी दिए। यसको बारेमा थप कुरा आयोगको निर्देशन अनुसार हुने उनले बताए।