arrow

पशुपतिले भने– लोकतान्त्रिक गठबन्धनकै बहुमत आउँछ

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
pasupati_rana.jpg

काठमाडौं । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धन एक भएर चुनावमा जाने बताएका छन्।

रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै राणाले भने, ‘हामी बृहत्त लोकतान्त्रिक मोर्चामा आवद्ध ६ दल नै एक भएर अघि बढ्छौं, आउने चुनावको लागि तालमेलमा कुरा मिल्छ, र लोकतान्त्रिक गठबन्धनकै बहुमत आउँछ।’

राणले गठबन्धनले छिट्टै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् । अध्यक्ष राणाले वाम गठबन्धन निर्माण भएकोले आफूहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाएको स्पष्ट पारे ।

उनले गठबन्धनमा आवद्ध ६ वटै दलहरु बेग्लाबेग्लै विचारधारा बोक्ने दल भएकोले कसरी अघि बढ्ने भन्नेबारे साझा न्यूनतम कार्यक्रमहरु चाँडै सार्वजनिक गर्ने जानकारी दिए।

राणाले आफूहरुको लोकतान्त्रिक मोर्चा कसैको विरुद्धमा गठन नभएको जिकिर पनि गरे। उनले भने, ‘हाम्रो गठबन्धन कसैको विरुद्धमा गठन भएको होईन, हामी त यो मुलुकमा बलियो, स्थायी सरकार बनाउनुपर्छ भन्ने पक्षमा छौं।’

वामपन्थी गठबन्धन बनेसँगै सबै प्रजातान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउनको लागि मद्दत पुगेको स्पष्ट पारे। उनले भने, ‘वामपन्थीहरु एक भएकोले हामी प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा आउन उत्साही भयौं।’ यद्धपी उनले प्रजातान्त्रिक शक्तिहरुवीचको गठबन्धनमा थुप्रै चूनौतिहरु भएको स्विकार गरे।

उनले भने, ‘हाम्रो गठबन्धनलाई अबको चुनावमा विजयी गराउनुपर्छ, जनताले यही कुरामा ध्यान दिनुपर्छ।’

यद्धपी राणाले वामपन्थीहरुवीच यति छिटो ध्रुवीकरण हुनु उपर्युक्त नभएको जिकिर पनि गरेका थिए। उनले भने, ‘वाम गठबन्धन यति छिटो बन्नु नै उपर्युक्त थिएन्।’

मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि बृहत्त प्रजातान्त्रिक मोर्चा आवश्यक रहेको उनले औंल्याए। उनले भने, ‘मुलुकलाई अब स्थिर सरकार चाहिएको छ, यो भयो भनेमात्रै मुलुकले विकासको गति लिन्छ।’

उनले वर्तमान प्रजातान्त्रिक गठबन्धन दिर्घकालिन रुपमै अघि बढ्ने समेत जनाए। उनले भने, ‘यो बृहत्त प्रजातान्त्रिक मोर्चा बनाउनुपर्छ भनेर पहिले बोल्ने मान्छे मै हुँ, यही रिपोर्टर्स क्लब नेपालमा मैले धेरै पटक बोलेको छु।’

चुनावी तालमेलको लागि सिट संख्यामा कुरा मिल्ने समेत उनले विश्वास दिलाए। उनले भने, ‘सिट संख्या बाँडफाँड गर्नेबारे पनि कुरा मिल्छ, अहिले कांग्रेस उदार हुन बाध्य छ, सरकार टिकाउनको लागि पनि आफ्नो पार्टनरको रक्षा गर्नुपर्छ, तुलनात्मक रुपमा कांग्रेस उदार छ।’

त्यस्तै उनले प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी र आफ्नो पार्टीवीच साझा चुनाव चिन्ह लिएर चुनावमा जानेबारे छलफल चलिरहेको पनि जानकारी दिए। कमल थापा नेतृत्वको राप्रपासँग पनि चुनावी तालमेल हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ