असोज २२, सबै जिल्लाबाट काँग्रेसका उम्मेदवारको नाम आउने अन्तिम दिन, आकांक्षीको लर्को
प्रकाशित २०७४ असोज २२ आइतबार
404
Shares
काठमाडौं। नेपाली काँग्रेसको पार्टी मुख्यालय सानेपामा असोज २२ गते आइतबार विशेष दिन हो । त्यो विशेष दिन काँग्रेसका आकांक्षी सबै जिल्ल्लाका उम्मेदवारको नाम आउने दिन ।
मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि काँग्रेसले सबै जिल्लाबाट उम्मेदवारको नामावली आउने डेटलाइन आइतबारको दिएको थियो ।
शनिबार साँझसम्म ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हाम्राकुरालाई जानकारी दिए ।
उनले यसरी पठाइएको सिफारिसमा आकाङ्क्षीको सूची लामो रहेको प्रतिक्रिया दिए ।
पार्टी केन्द्रीय सचिवालयका अनुसार काँग्रेसले जिल्लाका कार्यसमितिलाई एक क्षेत्रबाट बढीमा तीन जनासम्मको नाम सिफरिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
निर्देशनअनुसार कतिपय जिल्लाबाट नामावली आए पनि अधिकांश जिल्लाबाट भने लामो सूची पठाइएको छ ।
कतिपय जिल्लाबाट अलग अलग सूची समेत आएको छ ।
पार्टीको केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले असोज २७ गते भित्र नै उम्मेदारको टुङ्गो लगाइसक्ने निर्णय सार्वजनिक गरेको छ ।
उम्मेदवारको टुङ्गो लगाउने पार्टीको संसदीय समिति भने अझै बन्न सकेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा बन्ने १५ सदस्यीय संसदीय समितिका आकांक्षी धेरै हुनुका साथै गुटगत राजनीतिले गर्दा अझै समिति बन्न नसकेको पार्टी उच्च स्रोत बताउँछ ।