सीपी मैनालीको सांसद संख्या घट्दै, कलसा देवीसहित केही माओवादी प्रवेश
प्रकाशित २०७४ असोज २२ आइतबार
275
Shares
काठमाडौं । सीपी मैनाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मालेकी साँसद कलसा देवी महरासहितका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अखिल नेपाल प्रगतिशिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा माले केन्द्रीय सदस्य समेत रहेकी महरा, केन्द्रीय सदस्य हिरण्य कुवँर लगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । महरा कञ्चनपुरबाट समानुपातिक सांसद हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरे । उनीहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले उपयुक्त समयमा सही निर्णय गरेको भनेर प्रशंसा गरे ।
उनले भने, ‘शक्तिशाली पार्टी बनाउने, देशको जिम्मा लिने र जनताको आकांक्षा अनुसार विकास निर्माण र सामाजिक न्याय र आर्थिक समृद्धिको दिशातिर देशलाई लैजान एउटा प्रक्रिया अगाडि बढेको छ । जुन अभियानमा तपाईहरु पनि सहभागि हुनु भो । यो महत्वपूर्ण हो ।’
माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबीच चुनावी तालमेल गरिएको र पार्टी एकता संयोजन समिति दाहालले बताए ।
यसअघि माले सांसद् शिवचन्द्र चौधरी नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । गएको शुक्रबार सांसद् चौधरीलाई पूर्व महामन्त्री विमलेन्द्र निधिले काँग्रेसमा प्रवेश गराएका हुन्। लामो समय इन्जिनियरिङ पेशाका संलग्न भएका चौधरी राम्रो छबि भएका नेता मानिन्छन्।