arrow

माछा मार्न गएका बालक फर्केनन्, अत्तोपत्तो लागेन

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
magdy1.png

बेनी । माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् । 

म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् । 

सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिए । 

बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । बिदाको समयमा खोलामा पुगेका पुन खोलामा बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीयवासी, आफन्त र प्रहरीले खोजीकार्य शुरु गरेका छन् । 

दशैँ तिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ । म्याग्दी र कालीखोलाको सतह घटेको छैन । 

प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बिदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताए । 

म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन् । 

बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानीलगायत आसपासका क्षेत्रमा व्यावसायिकरुपमै माछा मार्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ