arrow

नयाँ शक्तिले निर्णय फेर्‍यो, अब सूर्य चिन्हमा चुनाव नलड्ने 

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
SachiwalayaMeeting.jpg

काठमाडौं । एमाले–माओवादी केन्द्रको गठबन्धनमा सहभागि हुन खोजेको नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको छ । संघीय सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि जारी विज्ञप्तिमा, ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’ भनिएको छ । यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिन्हमा चुनाव लड्ने भन्दै वाम गठबन्धनको चुनावी तालमेल तथा पार्टी एकताको खाका सार्वजनिक समारोहमा उपस्थित भएका थिए । पछि सिट संख्या बाँडफाँट कार्यदलमा नयाँ शक्ति सहभागि भएन । 

यस्तै, बैठकले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र समावेशीता)लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने । यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने निर्णय पनि भएको छ । 

पूर्ववत् निर्णय अनुसारको उम्मेद्वारी
१. डा. बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

यस्तै, बैठकले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने र उम्मेद्वारीको तय गर्न तथा विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ