मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त यादव
प्रकाशित २०७४ असोज ३० सोमबार
872
Shares
धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन् । सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिलै यादवले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताए ।
उनले यसअघि पनि निर्वाचनको बेलामा सरकारको परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्री समेत परिवर्तन भएको उल्लेख गर्दै त्यस्तो बेलामा समेत निर्वाचन सम्पन्न गरेको बताए ।
“हामीले आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई अर्जुन दृष्टिले हेर्दै सम्पन्न गर्न गइरहेका छौं ।” यादवले भने, “सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नुहुंदैन” मूल अभियान जसरी भए पनि निर्वाचन सफल गर्ने हो, त्यसैले सरकारलाई हामी आग्रह गर्दछौं, “आचारसंहिता विपरित कुनै काम नहोस् र आगामी दिनमा पनि नहोस् ।”
निर्वाचन आयोग यस विषयमा निष्पक्ष र यसको सञ्चालनमा कुनै कसर नपरोस् भनेर आग्रह गरिरहेको प्रमुख निर्वाचन आयुक्त डा यावदले बताए ।
आइतबार समानुपातिक तर्फको बन्द सूची सफल भएको र अरु कार्यक्रम पनि अगाडि बढिरहेको अवस्थामा सबै सरोकारवाला निकायले अन्यथा लिएर अतिरञ्जीत नगर्न समेत आग्रह गरे। अहिलेसम्मको प्रजातान्त्रिक संस्कारको रुपमा हेर्दा २०६४ मा पनि २०७० र स्थानीय तहको निर्वाचनमा पनि सरकार परिवर्तन भएको छ ।
यसैबीच क्षेत्रीयस्तरको प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले निर्वाचनमा प्रयोग गरिएका सबै प्रकारका सामग्रीहरुको व्यवस्थित प्रयोग र उपयोग गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचनमा आयोगले बनाएको आर्थिक निर्देशिकाअनुसार काम गर्नसमेत आग्रह गरे ।
कार्यक्रममा उनले सामग्री ज्यादै महत्वपूर्ण भएकाले नियमित रुपमा प्रयोग गर्ने कार्यालय र अर्को निर्वाचनको बेलामा प्रयोग गर्ने सामग्रीलाई सुरक्षित गर्न सबैलाई उत्तिकै जिम्मेवारीपूर्ण ढंगले लाग्न आग्रह गरे। निर्वाचनमा लाग्ने सबै प्रकारका कुल खर्चमध्ये २५ प्रतिशत मात्रै केन्द्रमा बस्ने र बाँकी ७५ प्रंतिशत जिल्लामा जाने प्रमुख निर्वाचन आयुक्तको भनाइ छ ।
यादवले मन्त्रिपरिषद्को संख्या ठूलो रहेकाले आरचासंहिता उलंघन गर्ने सम्भावना रहने भन्दै त्यसका लागि जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलगायत निर्वाचनमा खटिने कर्मचारीलाई समेत आवश्यक निरीक्षण गर्न आग्रह गरे । प्रशिक्षण कार्यक्रम आजै सम्पन्न हुने आयोगले जनाएको छ । रासस