जहाँ पाइँदैन देउसी भैली खेल्न, २ वर्षमा खेलिन्छ एक पटक महादेवको भैलो
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
441
Shares
जाजरकोट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भए पनि जाजरकोटको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका ४ लैखममा सुनसान देखिएको हो ।
लैखम नजिकैका गाउँमा तिहारको दैउसी, भैली खेल्ने युवायुवतीको दर्जनौ समूह आए पनि लैखमगाउँमा भने आउन कसैले मान्दैनन् । वर्षौंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले यस लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगत देखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए।
महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुला बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्ने जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शकहरु पुग्ने गर्दछन् । लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन । दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ । गाउँमा रमाइलोका लागि वा देवतालाई खुशी बनाउन नभई महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ । यो मनाउन छाडेमा महादेवले हानि गर्ने भएपछि आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।