भारतमा मजदुरी गरी परिवार पाल्दै,डुंगा बिग्रिँदा जनजीवन नै ठप्प
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
318
Shares
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका १० अठार नम्बर पिल्लर बस्तीका बासिन्दाको जग्गा जोगबुढा नदीको बाढीले बगाएपछि साँझ बिहानको छाक टार्नका लागि भारतमा मजदुरी गर्दै आएका छन् ।
उब्जनी हुने सबै जग्गा नदीको बाढीले बगाएपछि यहाँका अधिकांश बासिन्दाले भारतीय क्षेत्रमा उखु काट्ने, गोडमेल गर्ने, सडक निर्माण गर्ने र अन्य मजदुरी गर्दै आएका हुन् ।
बाढीकै दुःखका कारण धैरै परिवार बस्ती नै छाडेर अन्यत्र बसाइ सारेका छन् । बस्तीमा हाल छ परिवारको मात्रै बसोबास रहेको छ ।
नदीमा ठूलो बाढी आए ज्यान जोगाउनका लागि भारतीय क्षेत्रमा शरण लिनु पर्ने बाध्यता रहेको गुनासो गर्दै स्थानीय बासिन्दा सुन्दर ओलीले भने, “भारतीय सुरक्षाकर्मीले भारतीय भू–भागमा बस्न नदिने भएकाले हामी समस्यामा छौँ ।” नदीपारि रहेको सो बस्तीको ओहोरदोहोरसमेत डुंगामा निर्भर छ । नदी पार गर्नका लागि अन्य कुनै विकल्प नहुँदा डुंगा नै एकमात्र सहारा बनेको छ ।
जोगबुडा नदीमा बाढी आउँदा वा डुंगा बिग्रिँदा जनजीवन नै ठप्प रहने गरेको स्थानीय मनु रावतले बताए ।
नदीमा पुलको माग गर्दै आए पनि हालसम्म सुनुवाइ हुन नसकेको उनले बताए । वर्षेनी नदीको बाढीले जग्गा बगाउने क्रम तीव्र बनाउँदै आएकाले बस्ती नै विस्थापन हुने पिरलो छ ।
नगरपालिकामा जनप्रतिनिधि आएकाले अव जग्गा कटानी रोक्न तटबन्ध र नदीमा पुल निर्माण हुनेमा यहाँका बासिन्दा आशावादी छन् ।