arrow

भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
earthquake-321.jpg.jpeg

काठमाडौं । टिम्बर कर्पोरेशन लिमिटेडले काठमाडौं उपत्यकामा १४ हजार १९१ क्युफिट काठ वितरण गरेको छ । 

भूकम्पले क्षति पुर्याएका घर, सम्पदा तथा सार्वजनिक संघसंस्थाको भवन निर्माणका लागि उक्त परिमाणमा काठ वितरण गरेको हो । हालसम्म काठमाडौंमा चार हजार ८६४, भक्तपुरमा आठ हजार १८४ र ललितपुरमा ६९८ क्युफिट काठ उपलब्ध गराएको कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए । 

तीनवटै जिल्लामा सम्पदा निर्माणका लागि ४४४ क्युफिट काठ वितरण गरेको छ । कर्पोरेशनले गत जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो । विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका २०७२ लाई स्वीकृत गरेको थियो । तर काठ वितरणमा भने ढिलाइ भएको थियो । 

निर्देशिकाको परिच्छेद ५ को दफा ११ मा भूकम्पप्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको थियो । 

कर्पोरेशनका महाप्रबन्धक लौडारी टिम्बर कर्पोरेशनले सबै जिल्लामा उपलब्ध गराउन नसक्ने अवस्था आएकाले काठ वितरण प्रक्रियामा ढिलाइ भएको बताउछन् । “उपत्यका बाहेकका अरू जिल्लामा जिल्ला वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउनेछ,” उनले भने । टिम्बरले भूकम्पपीडितलाई प्रतिक्युफिट दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । 

कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपुर्जा र घर निर्माणको नक्सा हेरेर मात्र काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले चालु आवमा एक लाख १५ हजार क्युफिट काठ भूकम्पपीडितलाई उपलब्ध गराउनेछ । अहिले कर्पोरेशनसँग भएको काठ भूकम्पपीडितलाई अपुग हुने लौडारीको भनाइ छ । कर्पोरेशनले कैलाली, कञ्चनपुर, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहट, मोरङ, सुनसरी र उदयपुरबाट काठ ल्याउने गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ