विर्तामोड घटनामा सशस्त्र प्रहरीका एसपी घाईते, घाईतेको तथ्यांक संकलन हुन सकेन
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
640
Shares
काठमाडौं । विहानदेखि बढेको तनावकाबीच आन्दोलनकारीको आक्रमणमा परी सशस्त्र प्रहरी बल झापाका एसपी रमेश सुवेदी घाईते भएका छन् । सशस्त्र झापाले दिएको जानकारी अनुसार आक्रमणमा परी उनको निधारमा चोट लागेको छ । आक्रमणकारीले उनलाई निधारमा नै ढुंगा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाले सो बाहेक अहिले कति जना घाईते भए भन्ने विषयमा कुनै जानकारी संकलन गर्न नसकिएको जनाएको छ । प्रहरीले अहिले भीड नियन्त्रणमा लिनको लागि प्रयास गरिरहेको भएपनि अहिलेसम्म स्थिती नियन्त्रणमा आईनसकेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए ।
झापाको विर्तामोडमा बुधबार उपचारको क्रममा एक बालकको ज्यान गएको विषयमा झडप हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । शुक्रबार विहानैदेखि स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाईएको छ ।
झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलन सुरु भएको हो । दशैंकै समयमा बालक हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि आक्रोशित भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयरको घरमा समेत तोडफोड गरेका छन् ।