सदरमुकाम पुग्न ७ जिल्ला घुम्ने बाध्यता टर्यो,६ महिनापछि संक्रान्ति-म्याङलुङ सडक सञ्चालनमा
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
460
Shares
आठराई । वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति-म्याङलुङ सडक खण्ड छ महिनापछि सञ्चालनमा आएको छ ।
सवारीसाधन सञ्चालनमा आएपछि आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।
वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डी भएका कारण सवारी साधन सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो ।
सडक अवरुद्ध हुँदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए । जिल्लाका स्थानीय तहले आ आफ्ना क्षेत्रका सडक खुलाउन सडक मर्मतमा खर्च गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए ।
चाडबाडका बेला यात्रुलाई आवतजावतका लागि सहज होस् भनेर सडक मर्मत गरिए पनि अहिले मात्र संक्रान्ति - म्याङलुङ सडक सञ्चालनमा आएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।
वर्षाले अवरुद्ध ६८ किलोमिटर आठराई संक्रान्ति-म्याङलुङ सडक सञ्चालनमा आएपछि साना सवारीसाधन समेत आवतजावत गर्नसक्ने सुनसरी यातायत संघ आठराईका प्रमुख बद्री सेढार्इंले बताए ।
अहिले म्याङलुङ-वसन्तपुर, म्याङलुङ- पोक्लाबाङ, सिधुवा-शुक्रबारे, म्याङलुङ सम्दु, जिरिखिम्ती- मोराहाङ, संक्रान्ति-खाम्लालुङ, सक्रान्ति-थोक्लुङ, औँशीडाँडा-थोक्लुङ सडक सञ्चालन भएका छन् ।