arrow

के चाहन्छ काँग्रेसको प्रजातान्त्रिक समाजवाद ? कसरी हुन्छ यसबाट विकास ? 

logo
सुदर्शन द्वीवेदी,
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
congress-flag.jpg

काठमाडौं । २००७ सालको क्रान्तिदेखि मुलुकको पहिलो शक्तिको रुपमा आफूलाई उभ्याउँदै आएको नेपाली काँग्रेस फेरि पनि आफ्नो प्रजातान्त्रिक समाजवादको नारा लिएर नेपाली जनतामा जाँदैछ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसले आफ्नो प्रजातान्त्रिक समाजवादको नाराबाट समाज विकासको अभियान सञ्चालन गरिरहेको छ । 

देशको आर्थिक र सामाजिक विकासका निम्ति नेपाली कांग्रेसको एउटा व्यापक प्रजातान्त्रिक समाजवादी नीति र दृष्टि छ । त्यो हो प्रजातान्त्रिक समाजवाद । यो समाजवादी दृष्टिको प्रमुख चिन्ता भनेकै कसरी हाम्रो समाजलाई भोक, रोग, अन्याय र अशिक्षाबाट मुक्ति दिलाएर सम्पन्न, एक ढिक्का र सामाजिक कलह रहित बनाउने भन्ने हो । नेपाली कांग्रेस एउटा यस्तो समाज र सामाजिक रितिथिति बनाउन चाहन्छ, जहाँ धन हुनेले केवल आफ्नो सम्पत्तिको वलमा, जहाँ बलियाले केवल आफ्नो बलका भरमा, पढे लेखेकाहरूले केवल खोक्रो विद्वता छाटेर वा शासन सत्तामा बस्नेले केवल निरंकुश शक्तिको आडमा देशको शासन, साधन र श्रीसम्पत्तिमा एकलौटी भोग चलन गर्ने वा हैकम चलाउने परिपाटी समाप्त हुने छ ।

काँग्रेसको मूल सिद्धान्त प्रजातान्त्रिक समाजवाद चाहन्छ देशको शासन सत्ता, सुविधा र सम्पन्नता– हलो कोदाली गर्ने ग्रामीण किसान, मजदुर, सामाजिक असमानताको बोझले थिचिएका महिलाहरू, अवोध केटाकेटीहरू, असहाय वृद्ध—वृद्धाहरू, पिछडिएका जात—जातिका मानिसहरू तथा न्यूनवेतनमा जीवन धान्नेहरूको माझ पु¥याउन सकियोस् । यसैको लागि काँग्रेस २००७ सालदेखि आजसम्मपनि लडिरहेको छ ।  

प्रजातान्त्रिक समाजवाद, समता र सामाजिक न्याय गरीब र निमूखा जनतासम्म पु¥याउने एउटा रचनात्मक प्रयास हो । प्रजातान्त्रिक समाजवाद एउटा आन्दोलन पनि हो । हरेक किसिमका राजनैतिक, आर्थिक र सामाजिक शोषणका विरुद्ध, उत्पादनका साधन र स्रोतहरूमा स्वामित्वको बनौटले मात्र समाजवादको परिभाषा हुन सक्तैन । कृषि क्षेत्रमा होस् वा औद्योगिक क्षेत्रमा उत्पादनको प्रतिफल न्यायपूर्ण तरीकाले जनताले भोग्न पाएका छन् कि छैनन् ? उत्पादन प्रबन्धमा श्रम पसीना बगाउनेहरूको अमानवीय शोषण भएको छ वा छैन ? श्रम पसीना बगाउनेहरूले श्रमको उचित पारिश्रमिक, सुविधा, स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाएका छन् वा छैनन् ? यी आधारहरूको कसीमा पनि समाजवाद जाँचिनु पर्छ भन्ने मान्यता समाजवादले राख्दछ । 

सरकारको सर्वव्यापी हस्तक्षेप र नियन्त्रणले मात्र समाजवाद आउँदैन । प्रजातान्त्रिक परिपाटीमा राष्टझ विकासको सम्पूर्ण कारकतत्व राज्य वा सरकार मात्र हुन सक्दैन । विकास मूलतः जनताको प्रत्यक्ष र सक्रिय सहभागिताबाट मात्र बढी जनमुखी र लाभदायक हुन्छ । त्यसैकारण नेपाली कांग्रेस विकास योजनाको तर्जुमादेखि क्रियान्वयनसम्म, विकास आयोजनाहरूको निर्माण अवधिदेखि तिनको मर्मत र रेखदेखको चरणसम्म ग्रामीण र स्थानीय तह मै जनतालाई अधिकार सम्पन्न गर्ने र उनीहरूको सहभागीता बढाउने कुराको पक्षपाती छ ।

खेत—जग्गा, उद्योग—व्यापार तथा देशका सबै श्रीसम्पत्ति सरकारको जिम्मा हुनुपर्छ भनेर संसारभरि कम्युनिस्टहरूले ल्याउन खोजेको समाजवादले वास्तवमा कम्युनिस्ट देशहरूमा घोर अभाव र विपन्नता, भ्रष्टाचार, तानाशाही र नरसंहार ल्यायो । त्यसैकारण अहिले एकपछि अर्को मुलुकमा कम्युनिस्ट शासनलाई त्यहीका जनताले फ्याँकिरहेका छन् ।

राजनैतिक र आर्थिक व्यवस्था राष्ट्रको विकास रथका दुइवटा पांग्रा हुन् । त्यसैले देशमा प्रजातन्त्र नभई आर्थिक विकास हुन सक्तैन भन्ने नेपाली कांग्रेसको धारणा रहिआएको हो । सैनिक निरंकुश तानाशाहहरू तथा एकदलीय साम्यवादी अधिनायकवादीहरू भने प्रजातन्त्र र जनताको अधिकार खोसेर आर्थिक विकासको छोटो र सजिलो बाटो हुन्छ भन्ठान्दछन् ।

हाम्रो देशका पञ्चायती तानाशाहहरूले तथा संसारका धेरै अरू सैनिक शासन, निरंकुश राजतन्त्र तथा साम्यवादी तानाशाहहरूले प्रजातन्त्र मासेर तथा जनताको अधिकारको बेवास्ता गरेर आर्थिक विकास गर्ने झुट्ठा प्रयत्न गरे । आज सारा संसारबाट तानाशाहीको यस्तो बाटो झुट्ठा र असफल प्रमाणित भएको छ । 
वास्तवमा मान्छेको आवश्यकता केवल रोटी र भोजनमा मात्र सीमित हुँदैन । मान्छेलाई स्वतन्त्रता, कला, साहित्य, संगीत, दया, स्नेह, करुणा र धर्मको भावलाई जीवित राख्ने सांस्कृतिक र आध्यात्मिक चेतना पनि चाहिन्छ । 

त्यसैले नेपाली कांग्रेसले देशमा विकासको थालनी गर्दा जनताको निम्ति खान लाउने सुविधा मात्रै होइन जनताको स्वतन्त्रता, स्वाभीमान तथा उनीहरूको सांस्कृतिक र आध्यात्मिक आवश्यकतालाई पनि सम्मान गर्ने र पूरा गर्ने विकास थाल्नुपर्छ भन्ने दृष्टि राखेको छ । नेपाली कांग्रेसको दृष्टिमा विकास भनेको पूँजी र प्रविधिको लगानी गर्ने यान्त्रिक प्रक्रिया मात्रै होइन । विकास मुलतः एउटा सामाजिक र राजनैतिक प्रक्रिया हो । त्यसैले देश विकासको प्रयासमा नेपाली कांग्रेसले पूँजी र उपयुक्त प्रविधिको प्रयोग
सँगसँगै जनता र जनशक्तिलाई संगठित र सञ्चालित गर्ने कुरालाई प्राथमिकता दिने छ ।

देशको विकास जनताको दृष्टिकोण, विचार र व्यवहारमा उपयुक्त परिवर्तनसँगै प्रारम्भ हुन्छ । त्यसैले राष्टझ उत्थानका लागि नेपाली कांग्रेस देशवासीहरूको हृदयमा आफ्नो समाज तथा देश प्रति गहिरो भावनात्मक लगाव र प्रतिवद्धता, र निमुखा देशवासीहरूका प्रति सेवाको भाव र दायित्व बोध जन्माउने एउटा नयाँ संस्कृतिको निर्माण गर्न कटिवद्ध रहनेछ ।

३० वर्ष अघि जनताले जिताएर पठाएको प्रधानमन्त्रीको हैसियतले नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले १५ वर्ष भित्र प्रत्येक नेपाली परिवारलाई कम्तिमा आफ्नो सरह मध्यम वर्गीय हैसियतमा पु¥याउने अठोट व्यक्त गर्नु भएको थियो । जनताका प्रधानमन्त्री कोइरालाले राजाका अगाडि उभिएर भन्नु भएथ्यो– प्रत्येक नेपाली परिवारको कम्तिमा मेरो जस्तो आफ्नो घर होस्, मलाई सरह उनीहरूलाई खान लाउन पुगोस्, मेरा बालबच्चा सरह उनीहरूको छोराछोरीले पनि स्कूल पढ्न जान पाउन् र विरामी पर्दा तिनको औषधी उपचार हुन सकोस् अनि गोठ आँगनमा दुहुना गाई भैंसी हुन सकुन् । यो अठोट गर्ने जनताको प्रधानमन्त्री र नेपाली कांग्रेसको सरकारलाई दुर्भाग्यवश १८ महिना नपुग्दै बन्दी बनाइयो । 

त्यसैले काँग्रेसको प्रजातन्त्रिक समाजवादले यिनै निमुखा, असहाय र पहुँचविहीनहरुको उत्थानमा भूमिका खेल्ने भएकोले काग्रेस जनताको प्रिय छ । काँग्रेस प्रजातान्त्रिक समाजवाद मार्फत् जनताको समृद्धि र स्वतन्त्रता चाहन्छ । त्यसैले यो निर्वाचनमा नेपाली काँग्रेसलाई नै रोज्नुको विकल्प सचेत नेपालीसँग छैन ।  

द्वीवेदी काँग्रेसका शुभेक्षुक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ