काँग्रेसमा जनलहर बढदै, विभिन्न पार्टी परित्याग गरी १५० बढी कार्यकर्ता प्रवेश
सुमन गिरी,
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
395
Shares
काभ्रे। मंसिर २१ गते हुने दोश्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ ले आफ्नो चुनावी अभियान आरम्भ गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि निवर्तमान सांसद तिर्थबहादुर लामाको उम्मेदवारी सर्वसम्मत भएपछि अहिले देखि नै उक्त क्षेत्रमा चुनावी चहलपहल सुरु भएको छ ।
आज भक्तपुरको सुर्यविनायकमा आयोजित काभ्रे कांग्रेसको भेलासँगै काभ्रे प्रतिनिधीसभा क्षेत्र नं. १ र प्रदेशसभा क्षेत्र नं. १ को चुनावी कार्यक्रम औपचारिकरुपमा सुरु भएको हो । सो अवसरमा डाडापारी, कोसीपारी र तिमाल भेगबाट एमाले र माओवादीका १ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कार्यक्रम संयोजक बुद्धराज लामाले जानकारी दिए । नवप्रवेशी कार्यकर्तालाई निवर्तमान सांसद तथा प्रतिनिधीसभा क्षेत्र नं. १ का उम्मेदवार तिर्थ लामा तथा पूर्वकोषाध्यक्ष तथा प्रदेश नं. १ का उम्मेदवार सिबी लामाले अबिर तथा खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्वकोषाध्यक्ष तथा प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार सिबी लामाले कम्न्युष्टहरुले लादन खोजेको अधिनायकबाद कुनैपनि हालतमा परास्त गरिछाडने बताउदै उनीहरुको अधिनायवाद बुझेरै धेरै जनता कांग्रेसमा आउनेक्रम बढेकोमा खुसी व्यक्त गरे । कांग्रेसकै नेतृत्वमा सबैलाई समेटने संविधान बनेको उल्लेख गर्दै लामाले अब यसको कार्यान्वयन तथा बन्ने नीति नियममा पनि सबै जातजाती, वर्ग, धर्म र समूदायको समान हकअघिकार कायमका लागि पनि कांग्रेसको जितको बिकल्प नरहेको जनताले बुझेको र धेरै जनता कांग्रेसको लोकतान्त्रिक समाजवादमा आवद्ध हुन चाहेको बताए । लामाले काभ्रे क्षेत्र नं. १ मा पटकपटक निर्वाचित हुदा पनि कम्न्युष्ट नेताहरुले केहि गर्न नसकेको र उनीहरुको भोट माग्नेसमेत आधार नभएको बताउदै कांग्रेसले पछिल्लो समय गरेको बिकास निर्माणका कामले जितको हकदार कांग्रेस नै भएको समेत दावी गरे ।
यस्तै निवर्तमान सांसद तथा प्रतिनिधीसभा क्षेत्र नं. १ का उम्मेदवार तिर्थ लामाले आफुले अघिल्लो निर्वाचनमा काभ्रेका जनतासँग बाचा गरेको लोकतान्त्रिक संविधान निर्माण र बिकास निर्माणका काम पुरा गरेको बताउदै अब समृद्ध काभ्रे निर्माणका लागि आफु इमान्दारीका साथ अघि बढेको बताए । ‘हामीले धेरै समय संविधान निर्माणका लागि खर्चनु पर्यो तथापी यीबीचमा मैले मोटरबाटो नै नपुगेको काभ्रेकै विकट डाडापारीका हरेक वडामा, तिमालका हरेक वडामा र कोसिपारीका हरेक वडामा मोटरबाटो पुर्याए । यस्तै खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि धेरै कामहरु गर्न सफल भए’ लामाले भने ‘अब संविधानको कार्यान्वयनका साथै यातायात, शिक्षा, स्वास्थ्य, खानेपानीमा व्यापक पहुँचसहितको समृद्ध काभ्रे निर्माण मेरो अभियान हो यसमा सम्पूर्ण काभ्रेका जनताले मलाई साथ दिनेछन ।’
काभ्रे क्षेत्र नं. १ का क्षेत्रीय सदस्य बुद्धराज लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा काभ्रे कांग्रेसका नेता कुमार लामिछाने, तिमाल गाउपालिकाका अध्यक्ष सलामसिंह लामालगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतीहरुसमेत राखिएको थियो । सो अवसरमा काभ्रेका चर्चित कलाकारहरु बिकु थोकर, विशाल काल्तान, शुक्र लामा दोङ, निमा दोङ, जगत लामा घिसिङ, अभिषेक तामाङलगायतले विभिन्न मनोरञ्जनात्कम प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
प्रतिनिधीसभा क्षेत्र नं. १ मा लामाको र क्षेत्र नं. २ मा मधु आचार्यको टिकट केन्द्रबाटै टुंगिसकेको छ । प्रदेशसभामा भने प्रदेश नं. १ का लागि सिबी लामाको र प्रदेश नं. ३ का लागि कञ्चनचन्द्र वादेको उम्मेदवारी पक्का भैसकेको छ भने प्रदेश नं. २ र ४ को टुंगन बाकि छ । यता बाम गठबन्धनबाट प्रतिनिधीसभा क्षेत्र नं. १ र प्रदेशसभा १ मा माओवादी तथा अन्य सबै क्षेत्रमा एमालेले भागबन्डा मिलाएका छन । एमालेले प्रतिनिधीसभा क्षेत्र नं. १ मा गोकुल बास्कोटाको नाम टुंगो लगाएपनि अन्य क्षेत्रमा लगाउन सकेको छैन ।